साझा न्यूनतम कार्यक्रम यसपटक बेवारिसे हुँदैन किनभने यसपटक म प्रधानमन्त्रि भएको छुः दाहाल
मुन्धुमस्टार डटकम— प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सरकारले ल्याएको साझा न्यूनमत कार्यक्रम कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरेका छन । सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यसअघिको सत्तारुढ गठबन्धनले ल्याएको कार्यक्रम कार्यान्वयन नभएको प्रसंग उठाउँदै आफू प्रधानमन्त्री भएकाले यो लागू हुने दाबी गरे ।
यसै हलमा केही समयअघि हामीले सरकारको न्यूनतम कार्यक्रम घोषणा गरेका थियौं, एउटा प्रतिबद्धता व्यक्त पनि भएको थियो । अस्ति हामीले समीक्षा गर्दा त्यो कार्यान्वयनमा खासै गएको देखिएन । प्रतिबद्धताहरु धेरै गरिए तर ती प्रतिबद्धता जुन तदारुकता साथ जिम्मेवारी र गम्भीरता साथ कार्यान्वयनमा लैजानु पर्ने हो त्यो नगरिएको इतिहास हामीसँग छ, मसँग छ, दाहालले भने त्यस समयमा म प्रधानमन्त्री थीनँ । सत्ता गठबन्धनको एउटा जिम्मेवार नेताको हैसियतले यसै हलमा उपस्थित भएर साझा नीति कार्यक्रम घोषणामा सहभागी थिएँ । यसपटक नयाँ के भएको छ भने केपीजीले भनिसक्नु भएको छ । नयाँ कुरा, म प्रधानमन्त्री भएको छु । मैले यसलाई नयाँ ठानेकु छ ।
यस्तै उनले विगतका सरकारले झैं यो सरकारले साझा न्यूनतम कार्यक्रमलाई बेवारिसे नबनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तपाईंहरुलाई लागेको होला विगतको जस्तै नेताहरुले यसपटक पनि त्यही गर्ने होला भनेर । तर यो भ्रम हटाउनुहोला । साझा न्यूनतम कार्यक्रम लावारिस र बेवारिसे हुने छैन, प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री भएपछि सचिवहरुसँग भएको अन्तक्रियाको प्रसंग निकाल्दै प्रधानमन्त्री दाहालले उनीहरूलाई आफूले राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय, समृद्धिको पक्षमा दृढता साथ अघि जानका लागि भनेको बताए ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका रुपमा एमाले अध्यक्ष केपी ओलीले सोमबार प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।



