माओवादीसँग एकताका लागि नेपाल समाजवादी पार्टीले वार्ता समिति बनाउने
मुन्धुमस्टार डटकम- नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आईतवारदेखि सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दीएको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
डा। भट्टराईले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए।
उनले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताए। सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दीने उनले स्पष्ट पारे।
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ। प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो।
आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ। सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार (भोलि) सम्म चल्ने जानकारी दिए।



