माओवादी केन्द्रसित एकताका लागि अघि बढ्दै नेपाल समाजवादी पार्टी
नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि नेपाल समाजवादी पार्टी (नेसपा)को वार्ता समिति बनाइने भएको छ ।
आइतबारदेखि उक्त पार्टीको राजनीतिक समितिको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
उनले माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाइने बताए । सो समितिलाई माओवादी केन्द्रसहित अरू पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरणका निम्ति छलफल र प्रयास गर्न अधिकार दिइने उनले स्पष्ट पारे ।
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका सात वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन–२०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो ।
आगामी कार्ययोजनाअन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख छ छ । सहअध्यक्ष श्रेष्ठले बैठक सोमबार (भोलि)सम्म जारी रहने जानकारी दिए ।



