फिलिपिन्सका कलाकार एलितो सिर्काले आफ्नै हातबाट निकालिएको रगत प्रयोग गरी क्यानभासमा चित्रहरु तयार गर्दै आएका छन् । ६२ वर्षीय सिर्काको यस्तो अस्वभाविक छनोटका कारण उनको कलकारिताले प्रशंसा र आलोचना दुवै पाउने गरेको छ ।

न्यून आयस्रोत भएका घरका सदस्य उनले विद्यालय जाँदा पनि आवश्यक उपकरण र सामग्रीहरु जुटाउन सकेका थिएनन् । त्यतिबेला उनले गोलभेँडा र आलुबखडा जस्ता फलफूलका रसलाई चित्र बनाउन रंगको रुपमा प्रयोग गर्ने गर्दथे । तर, युवावयसँगै उनको आकर्षण आफ्नै रगततर्फ बढ्न थाल्यो र उनले यसैबाट चित्र बनाउन थालेका रोयटर्सले लेखेको छ ।

हातमा रगतमा डुबाएको पेन्ट ब्रस लिएका सिर्काले भनेका छन्, “रगतको दाग मेटिन कठिन हुने भएकाले पनि मैले यसबाट चित्र बनाउन थालेको हुँ । मेरो यस्तो कला महत्वपूर्ण छ, किनभने यो मेरो शरीरबाट सिर्जित हो । यसमा मेरो डीएनएको अंश रहेको हुन्छ ।”

अहिले हरेक तीन महिनाको एकपटक उनी सहरको स्वास्थ्य क्लिनिकमा गएर आफ्नो ५०० मिलिलिटर रगत निकाल्न लगाउँछन् । भावी परियोजनामा प्रयोग गर्न उनले यस्तो रगत स्टुडियोको चिसो स्थानमा सुरक्षित राख्ने गरेका छन् ।

उनले रगतबाट आफू हुर्केको सहर पान्तावान्गानको इतिहास झल्किने गरी चार फिट लामो र आठ फिट चौडाइका वालपेन्टिंग तयार गरिसकेका छन् । उनको यो वर्ष एकसय मिटर अग्लो रगतको क्यानभास पेन्टिंग बनाएर विश्व कीर्तिमान राख्ने धोको रहेको छ ।