खेलाडीले खेल्न नमानेपछि नेपाल टी–२० खेल अनिश्चित
नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।
नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएको छ ।
नेपाल टी-२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पारिश्रमिक नदिइ आयोजक गायब भएको र धेरै शंकास्पद गतिविधि भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘आफू ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा आजदेखि कुनै संलग्नता नरहने बताएका छन् ।’
तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका उनले आफू नभागेको बताए । ‘हल्ला चलेजस्तो हामी भागेका होइनौं । बैंक ट्रान्सफरको काम मिलाउन आएको हो, १-२ दिनमा फर्कन्छौं । हाम्रो ५० जनाको लाइभ क्रु नेपालमै छ’, जतिनले भने ।
खेलाडीलाई टिमका मालिकहरुले र अम्पायर तथा अरु अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक दिनुपर्ने भन्दै उनले भने, ‘ खेलाडी र अफिसियललाई तलब हामीले दिने होइन ।’
विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिक काठमाडौंमै छन् । उनीहरुले आफु खेलाडीको तलब दिन तयार रहेको बताएका छन् । क्यानसँग आजै मिटिङ बसेर समन्वय गर्न आफूहरु तयार रहेको यी दुई टिमका मालिकले बताएका छन् ।



