इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ ।

पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए। उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन भएको उल्लेख गरेका छन् ।