न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सनले टेस्ट टिमको कप्तानी त्याग्ने घोषणा गरेका छन् ।

टेस्ट टिमको कप्तानी छोडेपनि एकदिवसीय र ट्वान्टी–२० टिमको कप्तानी भने ३२ वर्षीय विलियम्सनले नै सम्हाल्नेछन् । विलियम्सन सन् २०१६ मा न्युजिल्यान्ड टिमको टेस्ट कप्तानमा नियुक्त भएका थिए । त्यसबेला विलियम्सनले हाल इंग्ल्यान्ड क्रिकेट टिमको प्रशिक्षक रहेको ब्रेन्डन म्याकुलमको स्थान लिएका थिए ।

विलियम्सनकाे स्थानमा अहिले टिम साउदीलाई न्युजिल्यान्डको नयाँ टेस्ट कप्तानको रूपमा हेरिएको छ । विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले खेलेको ४० टेस्टमध्ये २२ खेलमा जित निकाल्यो ।

“न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी सम्हाल्न पाउनु साँच्चै विशेष सम्मान थियो । कप्तानी थप जिम्मेवारीसँगै आउँछ,” विलियम्सनले भने, “र, करियरको अहिलेको समयमा आइपुग्दा कप्तानी छोड्ने निर्णयका लागि यो नै उपयुक्त समय भएको मैले महसुस गरेको छु ।”

विलियम्सनले न्युजिल्यान्डलाई सन् २०१९ को एकदिवसीय र २०२१ को ट्वान्टी–२० विश्वकपको फाइनलसम्म डोहोर्‍याएका थिए । जहाँ न्युजिल्यान्ड क्रमशः इंग्ल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

विलियम्सनकै कप्तानीमा न्युजिल्यान्डले २०२१ मा विश्व टेस्ट च्याम्पिनयसिपको उपाधि जितेको थियो । च्याम्पिनयसिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो । विलियम्सनले न्युजिल्यान्डबाट कप्तानको रूपमा टेस्ट क्रिकेटमा तीन हजार ३३१ रन बनाएका छन् ।