“विजेताले नै सबै लिन्छ,’’ स्वीडेनको एक ब्यान्ड एबीबीएले भनेको छ । एबीबीए ब्यान्ड जसले हालका महिनाहरूमा पुनःसफलता प्राप्त गरिरहेको छ । स्वीडेनी समूहको मन्त्र पक्कै पनि फुटबलमा पनि मेल खान्छ ।

आज फिफा विश्वकपको सेमिफाइनलमा फुटबलका दुई दिग्गजहरू लियोनेल मेसी र लुका मोड्रिच कतारको लुसेल रंगशालामा प्रतिस्पर्धा गर्दै छन् । मेसी र मोड्रिच दुवै आफ्नो चम्किलो करियरको उत्तरार्द्धमा छन् । दुवै खेलाडी करियरमा प्राप्त नभएको एउटा उपाधि जित्ने प्रयासमा छन् । र, त्यो हो, फिफा विश्वकपको उपाधि । विश्वकपको उपाधि जित्ने मेसी र मोड्रिचको सपना पनि हो ।

निःसन्देह, यो विश्वकप उनीहरूको सपना जीवित राख्ने अन्तिम मौका हुनेछ । जब आज पहिलो सेमिफाइनल खेलको अन्तिम सिट्ठी बज्नेछ, उनीहरूमध्ये एकका लागि विश्वकपको उपाधि जित्ने सपना समाप्त हुनेछ । विश्वकप उपाधि कुनै पनि फुटबलरको करियरको शिखरमा पुग्ने सपना पनि हो ।

मोड्रिच र मेसीको ऐतिहासिक भिडन्त
फुटबलका दुई महान् हस्ती मेसी र मोड्रिचले आफ्नो करियरमा के हासिल गरिसकेका छन् भनेर हेरौँ । फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’अर अवार्ड जित्न सफल मेसी र मोड्रिच दुवैले नम्बर १० को जर्सी लगाउछन् । र, १० नम्बर जर्सी लगाएर फुटबल प्रशंसकलाई रोमाञ्चक बनाउन सक्षम छन् ।

मेसी र मोड्रिच क्लब फुटबलमा पटक–पटक आमने–सामने भइसकेका छन् । आफ्नो करियरको लामो समय मेसीले ला लिगाको क्लब बार्सिलोना र मोड्रिचले रियल मड्रिडबाट खेल्थे । ती क्लबहरू विश्वकै सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् । मेसी अहिले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेल्छन् । मड्रिड र पीएसजी च्याम्पियन्स लिगको खेलमा पुनः आमने–सामने हुँदै छन् ।

विश्वकपमा पनि मेसी र मोड्रिचले एकार्काविरुद्ध खेलिसकेका छन् । रुसमा सम्पन्न फिफा विश्वकप–२०१८ को समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो ।

२००६ को मैत्रीपूर्ण खेल भने दुवैका लागि केही विशेष छ । त्यसमा मेसीले अर्जेन्टिनाका लागि आफ्नो पहिलो गोल गरेका थिए । मोड्रिचले क्रोएसियाबाट ‘डेब्यु’ गरेका थिए ।

दुई १० नम्बरको भाग्य
गुणस्तर, क्षमता तथा मैदानभित्र र बाहिर चमत्कारिक नेतृत्व क्षमता भएका दुई खेलाडी मेसी र मोड्रिच दुवैको विगत निकै सरल छ । सानो कदका कारण मेसीले युवा अवस्थामा युरोपमा पुगेर आफ्नो उमेरका अरू युवासँग प्रतिस्पर्धाका लागि ठूलो कठिनाई व्यहोर्नुपरेको थियो । ‘ग्रोथ हर्मोन डिफिसेन्सी (जीएचडी)’बाट गुज्रिएका मेसीलाई स्पेनिस क्लब बार्सिलोनाले उपचार गरिदिने सर्तसहित अनुबन्ध गरेको थियो । तर, मेसीसँग फरक क्षमता थियो, त्यो अद्वितीय र दुर्लभ थियो ।

अर्कोतर्फ, मोड्रिच बाल्कन युद्धको समयमा हुर्केका थिए । त्यो युद्धले १९९१ मा क्रोएसियाली स्वतन्त्रताको नेतृत्व गर्‍यो । दुई फरक तर समान कथाहरू मेसी र मोड्रिचको क्यारियरमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन् ।

नियतिले जस्तै थप अर्को एक असामान्य तथ्य छ । जसले दुवैको समानता देखाउँछ । दुवैले विश्वकपको फाइनल खेलेका छन् । हारेका छन् । तर, हारे पनि दुवैले प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जित्न सफल भएका छन् ।

ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा मेसीले त्यस्तो सफलता हासिल गरेका थिए । त्यति बेला अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो । रुसमा सम्पन्न २०१८ को विश्वकपमा मोड्रिचले उक्त सफलता हासिल गरेका थिए । त्यति बेला क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।

 

मेसी र मोड्रिचको करियर तुलना
मेसी र मोड्रिच दुवैले क्लब फुटबलमा लगभग सबै उपाधि जितेका छन् । मेसीले बार्सिलोनाबाट १० स्पेनिस ला लिगाको उपाधि जितेका छन् । साथै, सात घरेलु र आठ सुपर कपको उपाधि पनि मेसीको नाममा छ ।

यस्तै, मेसीले एक फ्रेन्च लिग वान र फ्रेन्च सुपर कपको उपाधि पनि जित्न सफल भएका छन् । त्यति मात्र होइन, मेसीले चार यूईएफए च्याम्पियन्स लिग, तीन यूईएफए सुपर कप र तीन फिफा क्लब विश्वकपको उपाधि पनि जित्न सफल भएका छन् ।

मेसीले अर्जेन्टिनाबाट एक फिफा यू–२० विश्वकप र ओलम्पिकमा एक स्वर्णपदक जितेका छन् । साथै, उनले कोपा अमेरिका र एक फाइनालिसिमाको पनि उपाधि जित्न सफल भएका छन् । जब व्यक्तिगत सम्मानको कुरा आउँछ, मेसीले सात बालोन डी’ओर अवार्ड जितेका छन् । मेसीले २०१४ को विश्वकपमा गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए । यो तथ्यांकले नै भन्छ, मेसीको ट्रफी क्याबिनेटमा केवल एक ट्रफी छैन । र, त्यो हो, फिफा विश्वकप ।

मोड्रिचको करियर पनि चाँदीजस्तै चम्किलो छ । क्रोएसियाका मिडफिल्डर मोड्रिचले डिनामो जाग्रेबबाट तीन क्रोएसियाली लिग उपाधि, एक सुपर कप र दुई लिग कपको उपाधि जितेका छन् । रियाल मड्रिडको जर्सीमा मोड्रिचले क्लबबाट जित्न सक्ने सबै कुरा जितेका छन् । मोड्रिचले रियाल मड्रिडबाट तीन ला लिगा उपाधि, चार सुपर कप, एउटा लिग कप, पाँच यूईएफए च्याम्पियन्स लिग उपाधि, चार यूईएफए सुपर कप र चार फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।

मोड्रिचको नेतृत्वमा क्रोएसियाले गत विश्वकपको फाइनल खेलेको थियो । फाइनलमा फ्रान्ससँग पराजित भयो । तर, सान्त्वनाका रूपमा मोड्रिचले प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जिते । त्यही सफलताले मोड्रिचलाई बालोन डी’ओर अवार्ड पनि दिलायो ।

मेसी र मोड्रिच
“निरपेक्ष रूपमा लियोनेल मेसी उत्कृष्ट हुन् । बास्केटबलमा माइकल जोर्डनले गरेजस्तै मेसीले फुटबलमा आफ्नो प्रभुत्व जमाउन सफल भएका छन्,” अर्जेन्टिनाबाट १० नम्बर जर्सी लगाउने मेसीबारे म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि भनेका छन् ।

“मोड्रिच अमर छन् । उनी सधैँ चुनौतीको सामना गर्न तत्पर हुन्छन् । सधैँ राम्रो खेल्छन् । उनी जुनसुकै बेला खेल परिवर्तन गर्ने खेलाडी हुन्,” क्रोएसियाबाट १० नम्बर जर्सी लगाउने मोड्रिचबारे रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका छन् ।