प्रदर्शनकाबीच इरानमा दशकौँ पुरानो हिजाब कानुनको समीक्षा गरिँदै

प्रदर्शन रोकिने नदेखिएपछि इरान सरकारले दशकौँ पुरानो हिजाब कानुनको समीक्षा गर्न थालेको छ । विशेषगरी महिलाहरूले आफ्नो टाउको अनिवार्य छोप्नुपर्ने दशकौँ पुरानो हिजाब कानुनको समीक्षा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानमा ड्रेस कोडसँग जोडिएको हिजाबलाई लिएर साढे दुई महिनादेखि विरोध भइरहेको छ ।
सरिया कानुनमा आधारित हिजाब कानुनको अवहेलना गरेको भन्दै प्रहरीले कुर्द मूलकी २२ वर्षीय इरानी महसा अमिनीलाई गिरफ्तार गरेको थियो । उनको हिरासतमा मृत्यु भएपछि सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।
प्रदर्शनकारीहरूले आफ्नो टाउको छोपेका हिजाब जलाउने, सरकार विरोधी नारा लगाउने र मुस्लिम धर्मगुरुहरूको टाउकोबाट पगडी फालेका छन् । महसा अमिनीको मृत्यु पछि, विशेषगरी तेहरानको फेसनेबल सहरमा महिलाहरूले हिजाब नलगाउने संख्या उल्लेखनीय रूपमा बढेको छ ।
“कानुनमा कुनै परिवर्तन आवश्यक छ कि छैन भनेर संसद् र न्यायपालिका दुवैले यस विषयमा काम गरिरहेका छन्,” इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।-इन्डियाटुडेबाट ।