मेस्सी र रोनाल्डो एकै फ्रेममा, विश्वभर चर्चा

विश्वकप सुरु हुनै लाग्दा गएको डेढ दशक भन्दा बढी समय देखि विश्वफुटबलमा राज गरिरहेका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै फ्रेममा देखिएका छन्। मेस्सी र रोनाल्डोलाई एकै फ्रेममा राखेर खिचिएको तस्विर शनिबार राति सार्वजनिक भएको हो।
तस्विर मेस्सी र रोनाल्डो दुवैले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्। तस्विरमा दुवै सँगै चेस खेलिरहेको देखिएका छन्। दुवैले तस्विर सार्वजनिक गर्दै लेखेका छन्,”विजय दिमागको एक अवस्था हो।”
मेस्सी र रोनाल्डोका अनुसार सो तस्विर ‘लुइस भुटन’का लागि चर्चित फोटोग्राफर एनी लेइभोभिचले खिचेकी हुन्। सामाजिक संजालमा यति बेला सो तस्विर भाइरल नै भइरहेको छ। मेस्सी र रोनाल्डोलाई एकै फ्रेममा देख्दा दुवैका समर्थक उत्साहित भएका छन्।
दुवै दिग्गज खेलाडी सम्भवतः यस पटक अन्तिम विश्वकप खेल्दैछन्। मेस्सी अर्जेन्टिनालाई विश्वकप दिलाउने योजनामा छन् भने रोनाल्डो पोर्चुगललाई विश्वकप दिलाउने प्लान सहित अगाडी बढिरहेका छन्। अर्जेन्टिना विश्वकपमा समूह ‘सी’मा रहेको छ भने पोर्चुगल समूह ‘एच’मा रहेको छ। -एजेन्सी