जलवायु परिवर्तनकाे असर बेहाेरिरहेका मुलुकले आर्थिक राहत पाउने

कायरो/बीबीसी । इजिप्टमा आयोजित कोप–२७ शिखर बैठकमा झण्डै दुईसय मुलुक जलवायु परिवर्तनका कारण नराम्ररी प्रभावित मुलुकलाई आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय कोष खडा गर्ने ऐतिहासिक सहमति भएको छ ।
शनिबार रातभर यो सम्झौता निर्णयका लागि वार्ता भएको थियो । यो सम्झौता विशेषगरी जलवायु परिवर्तन पीडित मुलुकहरुलाई ‘नोक्सान र क्षति’को एजेन्डामा आर्थिक टेवा पुर्याउने विषयमा लक्षित छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “यस सम्झौताका लागि प्रचुर मात्रामा राजनीतिक संकेतको आवश्यकता छ । तर, स्पष्ट रुपमा त्यसको अभाव देखिन्छ ।”
१९औँ शताब्दीको तुलनामा अहिले पृथ्वीको तापक्रम करिब १ दशमलव १ डिग्री सेल्सियस बढी रहेको छ । साथै वायुमण्डलमा कार्वनडाइअक्साइडको परिमाण पनि ५० प्रतिशतले बढेको छ ।
वैज्ञानिकहरुले यदि यो समस्या रोकथामका लागि सही कदम नचालिएको खण्डमा पृथ्वीको बढ्दो तापक्रमका कारण समुद्रमा पानीको सतह बढ्ने तथा जीवजन्तु र वनस्पतिलाई गम्भीर हानी पुर्याउने चेतावनी दिएका छन् ।