Logo

नेपालद्वारा यूएई पराजित


दोस्रो एकदिवसीय खेलमा बुधबार नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालको जितमा गुल्सनले ४९ बलमा चार चौका र एक छ्क्कासहित ३७ रन बनाए । यस्तै, ३३ रनमा अविजित रहेका आरिफ सेखले ५८ बलमा तीन चौका प्रहार गरे । १०६-६ को अवस्थाबाट यी दुईले ६२ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याएका थिए । नेपालले १३ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेलले ३५ रन बनाए । ज्ञानेन्द्र मल्लले २६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । कप्तान रोहित पौडेल ८ रनमा आउट भए । सोमपाल कामी १६ रनमा अविजित रहे ।

यूएईका रोहन मुस्तफाले तीन विकेट लिए । हजर बिलालले दुई र बसिल हमेदले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।

यूएईका ओपनर मुहम्मद वसिमले ५० रन बनाएका थिए । वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अलिसन सराफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमेदले २४, कप्तान सिपी रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन जोडे ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिएका थिए । १० ओभरमा ललितले ४१ रन खर्चिदा सोमपालले ७.२ ओभरमा ३५ रन खर्चिएका थिए । यसबाहेक, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए ।

जितसँगै शृंखलामा नेपालले १-१ को बराबरी गरेको छ । यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल आएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाहुना टोलीसँग ८४ रनले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल मंसिर २ गते हुनेछ । शृंखलाको ‘प्लेयर अफ दी म्याच’ ले २० हजार र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ ले ५० हजार रुपैयाँ पाउनेछन् । शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य २०० रुपैयाँ राखेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्