पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप
बेनस्टोक्सले अलराउन्ड प्रदर्शन गरेपछि इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।
इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रोपटक हो । इङ्ल्यान्डले यसअघि २०१० मा पनि उपाधि जितेको थियो । त्यसको १२ वर्षपछि इङ्ल्यान्डले ८० हजार दर्शकमाझ दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
उक्त लक्ष्य पूरा गर्नेक्रममा इङ्ल्यान्डका स्टोक्सले अविजित ५१ रन बनाए । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान जोस बट्लरले २६, ह्यारी ब्रुक्सले २० र फिल साल्टले १० रन बनाए । मोइन अलीले १९ रन बनाए ।
पाकिस्तानका ह्यारीस राउफले दुई विकेट लिँदा साहीन शाह अफ्रिदी, मोहम्मद वासिम र शादब खानले एकएक विकेट लिए । त्यसअघि पाकिस्तानका सान मसुदले ३८ रन बनाए । कप्तान बाबर आजमले ३२ रन थप्दा सदाब खानले २०, मोहम्मद रिजवानले १५ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् ।
पाकिस्तानलाई कम योगफलमै रोक्न इङ्ल्यान्डबाट प्रभावकारी बलिङ गरेको साम करनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका करनले १२ रनमात्र खर्चिए । आदिल आलम र क्रिस जोर्डनले समान दुई विकेट लिँदा बेन स्टोक्सले एक विकेट हात पारे ।
पाकिस्तानले यसअघि २००९ विश्वकपको उपाधि जितेको थियो । त्यसबाहेक विश्वकपमा दुवै टिमले समान एकपटक उपविजेतामा चित्त बुझाएका थिए ।
आज मेलबर्न क्रिकेट मैदानमा पाकिस्तान र इङ्ल्यान्डले फाइनल खेल्दै गर्दा सन् १९९२ को एकदिवसीय विश्वकपको फाइनलको झल्को दिएको थियो । त्यतिबेला संयोग गज्जबको छ । पाकिस्तानले १९९२ को विश्वकपमा उपाधिका लागि इङ्ल्यान्डसँग नै खेलेको थियो । र, फाइनलमा उपाधिका लागि खेल्नुअघि त्यसबेला पनि पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।
अझ रोमाञ्चक संयोग के भने त्यसबेला पनि अस्ट्रेलिया विश्वकपको साबिक विजेता थियो र प्रतियोगिताको सेमिफाइनलमा पुग्न सकेको थिएन । यसपटक पनि अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको साबिक विजेता भए पनि सेमिफाइनल पुग्न भने असफल भयो । तर, फाइनलमा उपाधि भने यसपटक इङ्ल्यान्डको नाममा रह्यो ।



