गठबन्धनले खोटाङमा चुनाव जितिसक्यो : रामकुमार राई (पासाङ)

खोटाङ – प्रतिनिधिसभाबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले गठबन्धनले निर्वाचन जितिसकेको तर, औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्।
प्रदेश नम्बर एकका खानेपानी तथा सिंचाइ मन्त्रीसमेत रहेका राईले जिल्लाको दक्षिणी क्षेत्र जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा शुक्रबार भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
सभालाई सम्बोधन गर्दै राईले गठबन्धनको बाली पाकिसकेको तर कुनै समय हुरीबतास असिना पानीले नष्ट गर्नसक्ने बताए। ‘हामीलाई भोट हाल्न सबै आतुर हुनुहुन्छ, हामीले चुनाव जितिसक्यौँ, हामी बाली पाकीसक्यौं, तर कुनै समय हुरी बतास, असिनापानी, जंगली जनावारले नष्ट गर्न सक्छ।
त्यसैले अब बाँकी नौँ दिन तपाईहरु सुरक्षित भएर बस्नुहोस्।’ राईले भने। चुनाव जितेसँगै विकास गर्न र खोटाङका जनताको अधिकार रक्षा गर्नकालागि लड्ने राईले बताए।
राईले भने, ‘खोटाङ संभावना नै संभावना बोकेको जिल्ला हो, यहाँ गर्नुपर्ने धेरै छन्।
त्यसैले हामी चुनाव जितेर विकास गर्न जनताको अधिकार रक्षा गर्न लड्न तयार हुनेछौँ । हिजो पनि लडेका हौँ र भोली पनि लड्ने छौँ।’