Logo

भारतले चामलमा कर लगाएपछि ३१ प्रतिशतले चामल आयात घट्यो


 

मुन्धुमस्टार डटकम — भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ३१ दशमलव ६७ प्रतिशतले चामल आयात घटेको छ । सोही अवधिमा ८६ दशमलव ५८ प्रतिशतले धान आयात घटेको भन्सार विभागको तथ्यांक छ । गत वर्षकाे पहिलाे तीन महिनामा ३० प्रतिशतले कनिका आयात समेत घटेकाे छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदाै र असोजमा भारतबाट कुल ४० करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको कनिका आयात भएको थियो । यस वर्ष सोही अवधिमा २८ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ ।

भारतले भदौ २४ गतेदेखि बासमती र उसीनाबाहेकको धान–चामल निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ९३ करोड ३२ लाख रुपैयाँको चामल आयात भएको छ ।जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

यो आर्थिक वर्षको पहिलो ३ महिनामा धान, चामल आयात घटेको देखिए पनि विगतका ५ वर्ष अवधिको मूल्यांकन गर्दा भने बढेको देखिन्छ । कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डित आयातित मसिनो चामल सबैको रोजाई बन्दै गएकाले बर्सेनि आयात बढेको बताइन । ‘पहिला गाउँघरमै उत्पादन भएको मोटो चामल खान्थ्यौं, आजभोलि आयातित मसिनो चामल खान्छौं,’ उनले भनिन्, ‘यता खाने जनसंख्या पनि बढ्दै गएको छ । त्यसैले मुलुकमा उत्पादन बढेपनि आयात नघटेको हो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्