Logo

छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने? – रेखा थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ‘पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन्।

शुक्रबार थापाले घरदैलो कार्यक्रममा बेलबारी-२ पुगेर भनिन्, ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो। आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्को लागि जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’ थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन्।

भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन्। उनले भनिन्, ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु। कुनै नेताको पछाडि जिन्दावाद र मुर्दावाद भन्दै नदौडिनुहोला। आज जुन नेताको पछि दौडनु हुन्छ ती नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन।’

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन्। उनले भनिन्, ‘काम सघाउँदा बरू आमा त खुसी हुन्छिन्। त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईंलाई चिन्दैन। केको लागि हिँड्ने जिन्दावाबाद, जिन्दावाद गर्दै?’

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन्। जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने उनले बताएकी छन्।

उनले भनिन्, ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ। ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु। अहिले म नितान्त तपाईंहरूको सेवक बन्न आएकी हुँ। ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्