Logo

दसैँ तिहारमा मात्रै एक करोडको तेह्रथुमे ढाका कपडा बिक्री


दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो ।

यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताए । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताए।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहारस्वरूप ढाकाका सामग्री दिने चलन बढेपछि ढाका कपडाको कारोबार उच्च भएको हो । जिल्लामा सञ्चालन भइरहेका साना–ठूला गरी करिब तीन दर्जन ढाका कपडा उद्योग र व्यपारीले दसैँ तिहारको अवसरमा रु एक लाखदेखि १० लाखसम्मको कारोबार गरेका छन् ।

मायाको चिनो र व्यक्तिगत प्रयोगमा ग्राहकको ढाकाप्रतिको मोह बढेपछि कपडाको बिक्री बढेकाले यो वर्ष रु पाँच लाखभन्दा बढीको बिक्री गरेको उज्ज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्ज्वलता सुब्बाले बताइन्। यस वर्ष धरान, विराटनगर, पोखरा, काठमाडौँ र हङकङबाट माग बढी भएकाले ढाकाका कपडाको कारोबार उच्च भएको सुब्बाले बताइन् ।

दसैँ तिहारमा ढाकाको टोपी र पछ्यौराको बिक्री धेरै भएको छ । एउटा टोपी रु पाँच सयदेखि २५ हजार सम्ममा बिक्री भएको छ । यसैगरी एउटा पछ्यौरा रु एक हजारदेखि पाँच हजारसम्ममा बिक्री भएको छ । जिल्लाका ढाका उद्योगले टोपी पछ्यौरा, सर्ट, टाई, रुमाल, चौबन्दी, टोपी, ब्लाउज, साडी, तन्ना, पर्दा, फेटा, थैली, झोला, पर्स, गलबन्दी, सलवार, चोलो, जुत्ता, चपल, बेल्टलगायत आकर्षक सामग्री उत्पादन गर्ने गरेका छन् ।

हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हेर्दा आकर्षण देखिने भएकाले तिहारका लागि ढाका कपडा किन्न उर्लाबारीबाट आएकी श्यामकला भट्टराईले बताइन्। उनी भन्छिन्, “तेह्रथुमे ढाकामा धागो र रङको संयोजन कलात्मक र उत्कृष्ट छ । टिकाउ पनि उतिकै राम्रो छ । सबैले मन पराउने भएकाले आफूलाई पनि रहर लागेर किन्न आएकी हूँ ।”

दसैँ तिहारबाहेक अरु समयमा पनि यहाँ आउने सबैको पहिलो नजर तेह्रथुमे ढाकामै जान्छ । उनीहरूले एक-दुईवटा ढाकाका कपडा किनिहाल्छन् ।  हिजो–आज तेह्रथुमे ढाकाले छुट्टै पहिचान बोकेको छ । यही पहिचानका आधारमा ढाका कपडाका पारखीहरूले टाढैबाट चिनिहाल्छन् । तेह्रथुमे ढाका कपडा स्वदेश तथा विदेशमा समेत लोकप्रिय बन्दै गएको छ । देशका विभिन्न स्थानमा ढाका कपडा बुनिए पनि ढाका कपडाको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ तेह्रथुमे ढाकाले ।

तेह्रथुमे ढाका कपडा देशका ठूलाठूला बजारमा मात्रै नभई विदेशमा निर्यात हुन थालेको उद्यमीहरू बताउँछन् । हिजो–आज काठमाडौँ, पोखरा, बुटबल, धरान, विराटनगरलगायत देशकै ठूलाठूला बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएको छ । यसैगरी हङकङ, बेलायत, सिङ्गापुर, ब्रुनाई, भारतलगायत देशमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीले पनि  ढाका माग गर्ने भएकाले विदेशमा तेह्रथुमे ढाका कपडाको निर्यात हुन गरेकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बताए। ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको उनको भनाइ छ । यसबाट हजारौँ महिलाले रोजगारी  पाएका छन् । ढाका उद्यमबाट महिलाको आयआर्जनमा सुधार आएको र महिला हिंसा कम हुने गरेको म्याङलुङ नगरपालिका–१ निवासी सुनिता दाहालले बताइन्।

ढाका उद्योगमा काम गर्ने महिलाले मासिक रु सातदेखि २५ हजारसम्म कमाइ गर्ने गरेका छन् । यसका अतिरिक्त स्थानीयवासीले घर–घरमा घरेलु कपडा बुन्ने गरेका छन् । बजारमा तेह्रथुमे ढाका कपडाको माग यति धेरै बढे पनि माग पूरा गर्न नसकिएको उद्योगीहरू बताउँछन् । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको तेह्रथुममा अहिले घरका कौसी, बार्दली, कोठा मात्रै नभएर भान्साघरमा तान राखेर ढाका कपडा बुन्ने युवायुवतीको सङ्ख्या प्रशस्तै भेटिन्छ । सभ्यताका रूपमा स्थापित ढाका कपडाप्रतिको मोह र जीविकोपार्जनका लागि पनि कपडा बुन्ने तान हरेक परिवारका कोठामा जोडिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा दर्ता भएका एक हजार एक सय ८१ उद्योगमध्ये एक सय ३५ उद्योगले ढाका कपडा दर्ता गरेका उद्योग विकास अधिकृत कृष्णप्रसाद पौडेलले बताए।

तेह्रथुमे ढाका कपडाको प्राण भनेकै ढाका उद्यमी र बुनकर हुन् । यिनीहरूको आर्थिक, सामाजिक, स्वास्थ्य र परिवारबारे सरोकारवाला सङ्घसंस्था, स्थानीय, प्रदेश, सङ्घीय सरकारले दीर्घकालीन हितका योजना ल्याई कार्यान्वयनमा लैजानुपर्ने स्थानीयवासीको भनाइ छ । बुनकरलाई यो पेशामा आकर्षण गर्न सके ठूलो सङ्ख्यामा रहेको शिक्षित तथा अशिक्षित र बेरोजगारलाई स्वरोजगार बनाई तेह्रथुम ढाका कपडा र उद्योग विस्तार गरी तेह्रथुम जिल्ला ढाकाको राजधानी पर्यटनकोे खानी भन्ने उक्त कायम राख्न सकिने उनीहरूले बताएका छन्  । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्