Logo

भारतबाट तीन साताभित्र ३० हजार टन युरिया मल नेपाल भित्रिने निश्चित


 

मुन्धुमस्टार डटकम — भारतबाट पहिलो खेप युरिया मल नेपाल भित्रिने निश्चित भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि ३० हजार टन युरिया मल खरिद प्रक्रिया पूरा गरेको छ । जीटूजी सम्झौताअन्तर्गत पहिलो पटक मल किन्न लागिएको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले पठाएको दर रेट स्वीकृत गरेर कम्पनीले ३० हजार टन युरिया मलको भुक्तानीसमेत पठाएको छ । ‘बढीमा आगामी तीन साताभित्रै भारतबाट मल भित्रिन सुरु हुन्छ,’ उनले भने, ‘गहुँ तथा मकैलगायत बालीका लागि समयमै मल आपूर्ति हुनेछ ।’

गत फेब्रुअरीमा भारतसँग सरकारीस्तरमा मल खरिदको सम्झौता भएको थियो । तर त्यसको महिनौंपछि जुलाई १७ मा मात्रै मलको कारोबार गर्ने भारतीय सरकारी कम्पनी आरसीएफ र कृषि सामग्री कम्पनीबीच खरिदबिक्रीको सहमति भएको थियो । त्यही सहमतिअनुसार मल ल्याउने अन्तिम चरणमा रहेको कार्कीले बताए । यसअघि ग्लोबल टेन्डरबाट मात्रै मल खरिद गरिँदै आएको थियो । पहिलो पटक भारत सरकारअन्तर्गतको कम्पनीबाट सीधै सरकारी तहमा भएको सम्झौताअनुसार मल ल्याउन लागिएको हो ।

ग्लोबल टेन्डरको तुलनामा अहिलेको प्रक्रियामा मलको मूल्य सस्तो तथा कम झन्झटिलो भएको कार्कीको भनाइ छ । ग्लोबल टेन्डरबाट प्रतिस्पर्धा गराउँदा सरदर शून्य दशमलव ४६ प्रतिशत (०।४६) मात्रै सस्तो पाइने गरेकामा यस पटक अनुमानित बजार मूल्यभन्दा झन्डै दुई प्रतिशत सस्तोमा मल किनिएको उनको दाबी छ । अन्तर्राष्ट्रियस्तरको मूल्य मूल्यांकनका आधारमा अहिले १ दशमलव ९४७ (१।९४७) प्रतिशतले सस्तो परेको उनले जानकारी दिए । प्रतिटन ७ सय ६८ अमेरिकी डलरमा भारतबाट युरिया मल किनिएको हो । त्यसमा नेपालको पोइन्टसम्म ढुवानी तथा प्याकेजिङलगायत खर्च पनि समावेश छन् । भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको नेपाली सीमा क्षेत्रमा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म मलको ढुवानी गर्नेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्