Logo

राष्ट्र्पती सि को तेस्रो कार्यकालामा चिनको नेपाल निती कस्तो होला ?


मुन्धुमस्टार डटकम  — चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरेको छ । चीनको ७ सदस्यीय नयाँ स्थायी समितिले आन्तरिक र बाह्य नीति तय गर्नेछ । त्यसको प्रभाव छिमेकी नेपालमा पनि पर्नेछ । नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति सीको नयाँ नीतिले खेल्ने भूमिका अब महत्त्वपूर्ण हुनेछ ।

सन् २०१२ सम्म चिनियाँ नीति थियो, भित्र बलियो बन्ने तर बाहिर नदेखाउने अर्थात् शान्त कूटनीति गर्ने । देङ स्याओ पिङले सन् १९७८ मा थालेको चीनको आर्थिक उदारीकरणपछि आर्थिक रूपमा विश्वसँग सहकार्य गरेको थियो । जसले गर्दा चीनमा विदेशी लगानी भित्रिन सहयोग मिल्यो । राजनीतिक र कूटनीतिक रूपमा विश्वसामु चीन एक शान्त मुलुक रह्यो ।

सन् २०१२ मा पार्टीको १८ औं महाधिवेशनबाट महासचिव बनेका उनी २०१३ मा राष्ट्रपति भएपछि चीन एकाएक प्रभावकारी मुलुकका रूपमा देखा पर्न थाल्यो । सीले आफू सत्तामा आउनेबित्तिकै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना (त्यसबेला वान बेल्ट वान रोड) लाई अघि ल्याएर आफ्नो महत्त्वाकांक्षालाई अघि सारे ।

त्यसपछि चीनले लगातार रूपमा विश्वका बहुपक्षीय संस्था संयुक्त राष्ट्रसंघदेखि अन्य क्षेत्रीय संगठनहरू र द्विपक्षीय सम्बन्धमा आफ्नो अडान राख्ने र प्रभाव पार्ने गरी विचार राख्न थाल्यो । राष्ट्रपति सीले आन्तरिक र बाह्य रूपमा आफूलाई बलियो रूपमा प्रस्तुत गरे । साथै, सीले वैचारिक रूपमा पनि आफ्नै विचारधारालाई अघि बढाउने क्रममा सन् २०१७ मा भएको सीपीसीको १९ औं महाधिवेशनमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी विचारधारा’ अघि बढाए । जसलाई सन् २०१८ मा चिनियाँ संविधानलाई संशोधन गरेर समावेश पनि गरियो ।

माओत्सेतुङले चीनलाई सन् १९४९ देखि १९७६ सम्म नेतृत्व गरेका थिए । जुन बेला चीन बाह्यभन्दा पनि आन्तरिक व्यवस्थापनमा सीमित थियो । देङले त्यसपछि चीनलाई आर्थिक उदारीकरणमा लगे पनि सीले नेतृत्व गर्नुभन्दा अघिसम्म बेइजिङले विश्वमा भइरहेका गतिविधिबारे ध्यान दिए पनि बाहिर खुलेर प्रतिक्रिया दिँदैनथ्यो ।

बेइजिङमा शनिबार तेस्रो पटक सीपीसीको महासचिवका रूपमा सी नियुक्त भएसँगै चीन विश्वमा थप प्रभावकारी र प्रखर रूपमा आउने आकलन गरिएको छ । त्यसैको प्रभाव स्वरूप नेपालमा पनि चीन पहिलेको भन्दा बढी क्रियाशील हुने संकेत सीका अघिल्ला दुई कार्यकालमा भएका गतिविधिलाई हेर्दा देख्न सकिन्छ ।

सीले नै अघि सारेको बीआरआईमा नेपाल सन् २०१७ मा सदस्य मुलुक बनेको थियो । अन्य बेलामा नेपालको राजनीतिमा चुप लागेर बस्ने र सत्तामा जो आए पनि त्यहीसँग सम्बन्ध विस्तार गर्ने चीनले दुई वर्षअघिदेखि राजनीतिक पार्टीहरूसँग पनि पार्टी सम्बन्ध विस्तार गर्न थाल्यो । नेपालमा राजाको शासनकालमा राजासँग मात्र सम्बन्ध विस्तार गरेको चीनले गणतन्त्र आएपछि सरकारको नेतृत्व र सन् २०१७ मा आएर नेपालमा एमाले र माओवादी पार्टीलाई मिलाएर नेकपा बनाउनकै लागि भूमिका खेल्यो ।

सन् २०१७ अघि नेपालमा ठूला राजनीतिक घटनाक्रम हुँदा सबैभन्दा बढी भारतीय राजदूत सक्रिय हुन्थे । त्यसपछि अमेरिकालगायत पश्चिमा मुलुकका राजदूतहरूले नेपालका नेतालाई एकपछि अर्को गर्दै लगातार रूपमा भेटवार्ता गर्ने गर्थे । तर सीले चीनलाई नेतृत्व गरेपछि नेपालमा चिनियाँ राजदूतहरू पनि सक्रिय हुन थाले । त्यसको पछिल्लो उदाहरण हो, आफ्नो झन्डै चारवर्षे कार्यकाल पूरा गरी फर्कन लागेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा गरेका गतिविधि । सीले नेपालमा नेकपाको सरकार हुँदा सन् २०१९ मा नेपालको दुईदिने राजकीय भ्रमण गरेर आफ्नो प्राथमिकतामा नेपाल रहेको प्रस्ट सन्देश पनि दिए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक रहेको पनि बताए ।

राजदूत यान्छीले नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकताका साथै पार्टीभित्र विवाद आएपछि मिलाउनका लागि समेत शीर्ष नेताकहाँ घरदैलो गरिन् । विगत ५ वर्षमा चीनबाट सीले पटक–पटक सीपीसीका शीर्ष नेताहरूलाई नेपाल पठाएर कम्युनिस्ट एकताका लागि जोडसमेत दिए । अर्कोतर्फ नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर चीनले पटक–पटक बेइजिङमा टिप्पणी गर्‍यो ।

नेपालले कुनै पनि मुलुकबाट लिएको अनुदान सहयोगमा चीनले यसअघि यति धेरै चासो कहिल्यै पनि देखाएको थिएन । चीनबाट पछिल्लो पटक चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुको भ्रमण हुँदा र त्यसअघि नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण र चीनबाट त्यहाँ विदेशमन्त्री वाङ यी तथा सीपीसीका विदेश मामिला विभाग प्रमुख ली चियानछाओको नेपाल भ्रमणमा गरी चिनियाँ पक्षबाट पटक–पटक नेपालमा एमसीसी सम्झौता कार्यान्वयनको सम्बन्धमा टिप्पणी भएका छन् । नेपालको संसद्ले गत फागुन १६ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि चीन नेपालसँग चिढियो ।

त्यसपछि चीनले पछिल्लो समय फेरि नेपालका कम्युनिस्टसहित अन्य राजनीतिक दलहरू विशेष गरी नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गरेको छ । साथै, चीनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का सम्बन्धमा पनि चासो दिँदै त्यसलाई नेपालले अस्वीकार गर्नुपर्ने बताएको थियो । नेपालले असार ६ गते एमसीसीलाई अघि नबढाउने निर्णय गरेको थियो । उक्त कदमलाई लिएर एमसीसीमा चिढिएको चीन एसपीपीको निर्णयमा खुसी भयो ।

साथै, चीनले नेपाललाई सुहाउँदो र आर्थिक विकास हुने व्यवस्थालाई अघि बढाउन पनि बुझाव दिइरहेको छ । अमेरिकाले सन् २०१९ मा अघि ल्याएको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) रिपोर्टपछि चीनले नेपालमा अझ बढी चासो दिन थालेको छ । किनकि उक्त रिपोर्टमा अमेरिकाले चीनको उदयलाई रोक्ने र त्यसका लागि चीनका छिमेकीहरूलाई साथमा लिएर सहकार्य गर्ने उल्लेख गरेको छ । त्यसपछि चीनले नेपालमा हुने हरेक गतिविधिमा चासो दिन थालेको हो । अमेरिकाले भर्खरै फेरि आईपीएस–२०२२ सार्वजनिक गरेको छ, जसमा फेरि चीनको उदयलाई रोक्ने उल्लेख गरेको छ । जसले गर्दा सीको तेस्रो कार्यकालमा नेपालमा अमेरिका र चीनको सक्रियता बढ्ने संकेत प्रस्ट हुन्छ ।

चीनको संवेनदशील भूभाग तिब्बतसँग जोडिएको मुलुक नेपाल र त्यहाँ हुने तिब्बती गतिविधिलाई लिएर बेइजिङ संवेदनशील छ । सीले नेपाल भ्रमण र त्यसपछि चिनियाँ उच्च अधिकारीहरूको पटक–पटकको आवतजावतमा समेत तिब्बत मामिलामा चीनको सुरक्षा चासो रहेको देखिन्छ । नेपालमा अमेरिकी अधिकारीहरूको भ्रमणमा हुने तिब्बती नागरिकसँगको भेटवार्तालाई समेत चीनले चासो दिँदै नेपाल सरकारसँग असन्तुष्टि जनाएको छ ।

चीनले पछिल्लो समय बीआरआई कसरी अघि बढाउने भन्ने गृहकार्य गरिरहेको छ । यसैबीचमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) अघि ल्याएको छ । सीले अब यी संयन्त्रलाई कसरी अघि बढाउँछन् भन्ने महत्त्वपूर्ण हुन्छ । उक्त परियोजनाको तेस्रो ५ वर्षे कार्यकालमा ३.० कसरी अघि बढ्छ र त्यसको नेपालमा के प्रभाव पर्छ भन्ने महत्त्वपूर्ण हुनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्