Logo

एकात्मक हिन्दु साँस्कृतिक बिद्रोहका सहिद रिदामा र राम्लिहाङलाई स्मरण गर्दै


 

मुन्धुमस्टार डटकम​- साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गर्ने भएका छन । सहादत प्राप्त गरेको १४६ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गर्ने भएका हुन ।

हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शाषकहरूबाट मारिएका रिदामा र राम्लिहाङको स्मरण गरिएको अभियन्ता विश्वासदीप तिगेलाले बताए । धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १४६ र्औँ स्मृति दिवसको अवसर पारेर बुधबार बेलायतमा स्मृति सभा राखिएको उनले जनाए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

त्यसैगरी, अर्का अभियन्ता आदिवासी जनजाति साहित्यकार।लेखक महासंघ, यूके एवम आदिवासी जनजाति युवा महासंघ यूकेका संयोजक अमित थेवेले सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिने बताए । उनले विगत चार वर्षदेखि प्रत्येक साल यसै समयमा सहिदहरू रिदामा र राम्लिहाङको सम्झना गरिएको जानकारी दिए । ‘गोर्खाली राजा र राणा शाषकहरूले जारी गरेको रुक्का र इस्तियारले लिम्बुवान क्षेत्रमा रहेका याक्थुङ लिम्बु, आठपहरीया, याक्खा लगायतका सबै आदिवासी र गैरहिन्दू समुदायहरूलाई अनिवार्य रूपमा दसैँ मान्ने र पशुवली दिनुपर्ने बाध्यता सिर्जना भएको थियो । अवज्ञा गर्नेहरू दण्डित हुने पनि गर्थे,’ उनले भने, ‘यसैको सिलसिलामा रिदामा र राम्लिहाङले आफ्नो मौलिक पहिचान नछाडेको देखेर हिन्दू शाषकहरूले धनकुटाको चुलीवनमा लगेर झुण्ड्याएर मारे ।’ लिम्बु पत्रकार संघ यूके अध्यक्ष समेत रहेका थेवेले राज्यसत्ताले दसैँलाई साँस्कृतिक नभएर राजनीतिक पर्वका रूपमा प्रश्रय दिएर अन्य धर्मावलम्बीहरूलाई अन्याय गरिरहेको आरोप लगाए ।

त्यसैगरी, बुधबार नै धनकुटामा रहेको चुलिवनमा सहिदहरूकाे प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिने आदिवासी अधिकारकर्मी एवम पत्रकार निमा पाेङ्सुवाले बताए । उनले बुधबार बिहानै आदिवासी आठपहरीया महिलाहरूकाे विशेष सक्रियतामा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिने जनाए । नेपालमा पनि विगत तीन वर्षदेखि सहिद रिदामा र राम्लिहाङकाे स्मरण गरिँदै आइएकाे छ ।

मङ्गलबार नेपाली समाचार डट कमकाे आयाेजनामा दसैँकाे विकल्पबारे भर्चुअल अन्तरक्रिया समेत राखिएको छ । अन्तरक्रियामा आदिवासी बुद्धिजीवी डा। कृष्ण भट्टचन र खराे अभियन्ता आङकाजी शेर्पाले आफ्नोे धारणा राख्ने आयाेजकले जनाएको छ ।

उत्तर, चित्रे टुटेको डुङडुङे दक्षिण, लम्बु खोला पश्चिम, माङ्गाया खोलापूर्वको चार किल्लाभित्र यी जातिले आठ किल्ला निर्माण गरी आठै प्रहर पहरा दिने गरेका कारण समुदायलाई आठपहरीया या अठप्रे भनिएको जनश्रुति चर्चित छ ।

पत्रकार एवम इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि।सं। १९३३ मा दसैँ नमान्दा रिदामा र राम्लिहाङ आठपहरीयालाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दीएको लेखेका छन । उनले लेखेको एक लेखमा १८३९ को साउनमा रण बहादुर शाहले खजुम राय, श्रीदेउ राय, आतहाङ राय र रैनसिंह रायलाई लालमोहर तथा रक्का जारी गर्दै नगरा निशान दिएको उल्लेख गरेका छन । ‘यस्तै, १८४० जेठमा रुक्का जारी गर्दै रणबहादुरले शत्रुसँग लड्न भनी लिम्बु शाषकहरू रैनसिंह राय, श्रीदेउ राय र आतहाङ रायलाई काठमाडौँ झिकाएर शान्ति स्थापना गर्न भन्दै हातहतियारसहित नगरा निशान दिए,’ दिक्पाल लेख्छन्, ‘१८४० मा लिम्बुवानमा श्रीजङ्ग पल्टन स्थापना भएको देखिन्छ । नगरा निशान लिएपछि दुर्गा पूजा र दसैँ मान्नुपर्ने अनिवार्यता थोपरियो । नित्य पूजा र दसैँमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र दसैँमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत दीएको छ ।’

साभार- नेपालि समचारबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्