मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका दावा छिरिङको शव फेला पर्यो

मुन्धुमस्टार डटकम — मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविरको बीचमा पहिरो खसेपछि बेपत्ता भएका ताप्लेजुङका दावा छिरिङ शेर्पाको शव सोमबार दिउँसो ११ बजे फेला परेको पर्यटन विभागले जनाएको छ ।
मनास्लुको दोस्रो शिविरबाट फर्किँदै गर्दा आइतबार उनी बेपत्ता भएका थिए । उनी काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीसँग आबद्ध थिए । उनको शव त्यहीँका स्थानीय शेर्षाहरूले भेटाएका हुन । शरदयामको मनास्लु आरोहणका क्रममा उनीसहित ३ जनाको मृत्यु भइसकेको छ । यसअघि हेली एभरेस्ट र सिम्रिक एयरले खोजी गर्दा पनि शव फेला पार्न सकेका थिएनन ।
गत सोमबार बिहान गएको हिमपहिरोमा पुरिएर हाई अल्टिच्युड गाइड अनूप राईको मृत्यु भएको थियो भने १० जनाको उद्धार गरिएको थियो ।