Logo

अछामको विभिन्न क्षेत्रमा पहिरो”ले घर पुरिँदा १७ जनाको मृत्यु ६ जना बेपत्ता: उद्दारमा कठिनाई


मुन्धुमस्टार डटकम — सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले भने, “जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म १७ जनाको ज्यान गएको र ६ जना बेपत्ता भएको विवरण आएको छ।” घाइते भएका केहीको मङ्गलसेनमा उपचार भइरहेको छ।

अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको उनले बताए। रिजालका अनुसार जिल्लाका तीनवटा स्थानीय तहका चार स्थानमा पहिरोका घटना भएको जानकारी आएको छ। तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा हालसम्म चार जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको रिजालले बताए। पहिरोले घर पुरिँदा कमलबजार नगरपालिकाको वडा नम्बर- ६ मा सात जना र वडा नम्बर-८ मा ५ जनाको निधन भएको छ।

त्यस्तै पहिरोकै कारण ढकारी गाउँपालिकामा एउटा घर पुरिँदा एकजनाको निधन भएको छ। विभिन्न स्थानमा हराइरहेका ६ जनाको खोजी कार्य जारी रहेको उनले बताए। जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको बताइएको छ। “मोबाइलको टावर पनि नलाग्ने ठाउँ रहेछ त्यसले गर्दा सूचना आदानप्रदानमा पनि समस्या भएको छ,” उनले भने।
कोइरालाका अनुसार उक्त क्षेत्रमा तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। उनले भने, “हामीले सबै मातहतका निकायलाई अलर्ट भएर बस्न भनेका छौँ। घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने अवस्था रहेमा त्यसो पनि गर्न भनेर सदरमुकाममा नै हेलिकप्टर राख्ने व्यवस्था मिलाएका छौँ।”

जिल्ला प्रहरी कार्यलाय अछामका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार  घटनास्थल टाढा भएकाले उद्धारमा कठिनाइ भएको छ। “हामीले बेपत्ताको खोजी र घाइतेलाई अस्पताल पठाउने काम गरिरहेका छौँ। तर अलि टाढा भएकाले समस्या छ।”

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्