पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले भरतपुर बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य सुरु गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे । भरतपुर बजार क्षेत्रको काम आजबाट सुरु गरिएको हो ।

एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु गरिएको हो ।

आयोजना अन्तर्गत कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकको विद्युतलाइन  भूमिगत गरिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अप्टिकल फाइवर केवल बिछ्याइनेछ ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्ब बजेट खर्च हुनेछ ।