अखिल नेपाल लेखक संघले तिजको सांस्कृतिक तथा सामाजिक पक्षमाथि बहस गर्यो
काठमाडौं । तिजको सांस्कृतिक तथा सामाजिक पक्षमाथि बहस भएको छ । अखिल नेपाल लेखक संघको आयोजनामा पुतलीसडकस्थित पद्मोदय माविमा शनिबार भएको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा तिज’ विषयमा डा. कौशिला रिसालले कार्यपत्र प्रस्तुत गरिन् । उनले नेपाल संस्कृतिप्रधान मुलुक भएको जनाउँदै राष्ट्रिय रूपमा मनाइँदै आएका विभिन्न चाडपर्वमध्ये समाजमा तिजको गहिरो प्रभाव रहेको बताइन् । उनले तिजलाई धार्मिक, पौराणिक, समाजशास्त्रीय एवं वर्गीय पक्षबाट हेर्नुपर्ने विचार व्यक्त गरिन् ।
डा. रिसालले परम्परागत रूपमा पुर्खाहरूले मनाउने गरेको तिज तीन दिनको भए पनि अहिले डेढ दुई महिनादेखि यसको नाममा पार्टी दिने, शृंगारिएर हिँड्ने गलत संस्कृतिको बाटोमा गएको जिकिर गरिन् । उनले भनिन्, ‘कुनै पनि संस्कृतिको निर्माणमा पुर्खाहरूको अपूर्व देन रहेको हुन्छ । धेरै लामो समयदेखि प्रचलित र परम्परित हरेक संस्कृतिभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका हुन्छन् । संस्कृतिले मानव जीवनको अस्तित्व रक्षा गर्दछ । तिज पर्वको दिदीबहिनी भेटघाटका दृष्टिले यो पर्वको निरन्तरता दिन आवश्यक छ तर अनावश्यक खर्च, तडकभडक र गहना प्रदर्शनको माध्यम बनाइनु हुँदैन ।’ उनले सौहार्दतापूर्ण तरिकाले पारिवारिक जमघट हुनुले आत्मीयता बोध हुने बताउँदै विभिन्न कामको सिलसिलामा भौतिक रूपमा टाढा भएका परिवारका सदस्यसँगको भेटघाटले एकआपसमा कर्तव्य र जिम्मेवारीबोध गराउन तथा दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्ध सुमधुर बनाउन तिजले सहयोग गर्ने धारणा व्यक्त गरिन् ।
डा. रिसालले घरपरिवार र समाजभित्रका अन्यायपूर्ण व्यवहारको विद्रोह गर्ने माध्यम बन्नु तिजको सकारात्मक पाटो भएको बताइन् । उनले भनिन्, ‘महिला उत्पीडनको खुलेर विरोध गर्दै पीडालाई सार्वजनीकरण गर्ने माध्यम तिज बन्नु महत्वपूर्ण पक्ष हो ।’ उनले पछिल्लो समय कतिपय गलत संस्कृति तिजभित्र घुसेको हुँदा पारिवारिक, सामाजिक सद्भावको पर्व भन्न नसुहाउने भनाइ राखिन् । उनले थपिन्, ‘महिलामाथि जर्बजस्त रूपमा धर्मलाई लादिएको छ । पुरुषले महिलाको लागि बस्नुनपर्ने व्रत महिलाले पुरुषका लागि किन बस्ने ? यसको वैज्ञानिक कारण वmे हो ? जीविकोपार्जनमा सहजता ल्याउनुपर्छ तर यसको विपरीतमा मानवीय अस्तित्वमा संकट आउने, मानव जीवनलाई असहज हुने, सामूहिक नभई व्यक्ति केन्द्रित, वर्गीय पक्षधरतालाई नअँगाल्ने संस्वृmति वास्तवमा संस्वृmति नभई विकृति हुन् । यस हिसाबले हामीलाई संस्कृति र विकृति चिन्न गाह्रो भएन ।’
उनले धर्मको आडमा विकास गरिएको पतिको लागि व्रत बस्ने नियम हाँस्यास्पद रहेको सुनाउँदै धर्मको गलत प्रचार गरेर जीवनको कलात्मक पाटो श्रम र श्रमजीवीलाई वर्गको उपेक्षा गरिएको बताइन् । डा. रिसालले भनिन्, ‘नारीले आफ्नो पीडा पोखेर सामाजिक रूपमा सहानुभूति बटुल्ने होइन अब एक दिन तिजमा मात्र होइन, तीन सय पैँसठ्ठी दिन नै आफूलाई परेको अन्यायविरुद्ध प्रतिवाद गर्न सक्नुपर्छ । समाजका जुनसुकै वर्ग, समुदाय, जातजातिका महिलाको अस्तित्वका निम्ति हामीले आवाज उठाउनुपर्छ ।’संघको नियमित मासिक शृंखला बातलाबामा यस पटक तिजको विषयमाथि बहस गरिएको हो । डा. रिसालको कार्यपत्रमाथि पूरक भनाइ राख्दै शारदादेवी लामिछानेले सांस्कृतिक पर्वका रुपमा रहेको तिजका विकृतिमाथि निर्मम ढंगले प्रहार गर्नुपर्ने धारणा राखिन् । उनले पछिल्लो समय तिजका नाममा भड्किलो संस्कृति भित्रिएको बताउँदै त्यसविरुद्ध सचेत ढंगले अभियान चाल्नुपर्ने भनाइ व्यक्त गरिन् ।
रचनावाचनसहित गरिएको सो कार्यक्रममा कवयत्री गौरी देवकोटा, पञ्चकुमारी परियार, प्रेमिला राई, राधा दुलाल कार्की, विन्दु अधिकारी ढकाल, चिरीमाया महर्जनले कविता सुनाएका थिए भने अमला महर्जनले गीत प्रस्तुत गरिन् । वाचित कवितामाथि डा.अम्बिका अर्यालले टिप्पणी गरेकी थिइन् । उनले कवितामार्फत कविले सामाजिक रुपान्तरणका लागि अझै प्रभावकारी ढंगले कलम चलाउनुपर्ने विचार व्यक्त गरिन् । सुधा मैनालीले सञ्चालन गरेको उक्त कायंक्रममा प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेलले समाजका विकृत पक्षलाई हटाउँदै समानतामा आधारित संस्कृति निर्माणमा गरिनुपर्ने बताए ।
यस्तै, प्रगतिशील लेखक संघका केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेतले सांस्कृतिक पर्वलाई भड्किलो नबनाइ मनाउनु पर्ने बताइन् । उनले चाडपर्वले कसैलाई अपमानको महसुस नहुने गरी मनाउनु पर्ने जनाउँदै तिजका विकृत पक्षलाई हटाउनु पर्ने जिकिर गरिन् ।



