किरात देशको माग गर्दै बुद्धिकर्ण देवानको संयोजकत्वमा नयाँ अभियान शुरु गरेको छ । ‘किरात देश अभियानको जोड्दार अपील’ शिर्षकमा एउटा अपील बुद्विकर्ण देवान संयोजक रहेको किरात देश अभियानबाट निकालिएको हो । उक्त अपीलमा किराती जनताले अब प्रदेश होइन, किरात देश स्थापनाको ठोस कार्यसूचीमा कठोर आन्दोलन निर्माणको क्रान्तिकारी झण्डा उठाउनै पर्ने बताएको छ ।

‘आन्दोलन विकासक्रममा भावी किरात देश महासंघीय नेपालको सदस्य राज्य बन्ने समझदारी हुन पनि सक्छ, तर प्रदेश किमार्थ होइन’ भन्ने गहन कुरा समेत अपील पत्रमा गरिएको छ ।

पूर्वी नेपालको प्रदेश १ लाई पहिचानको प्रदेश नामाकरणका लागि आम जनताले शान्तिपूर्ण मागहरु लगातार दर्ज गरे। विभिन्न विचारधाराका राजनीतिक कार्यकर्ता र मुख्यत: राई यायोक्खा, याक्थुङ चुम्लुङ, याक्खा छुम्मा, सुनुवार सेवा समाजलगायत प्रगतिशील बौद्विकहरुले आफ्नो तागतले भ्याएसम्म संघर्ष गरेको तर नाम राख्न नसक्नुमा मुख्य दोषी काठमाडौं निर्देशित गोर्खाली अन्धराष्ट्रवादी राजनीतिक दलहरु भएकोले किराती जनताले अब प्रदेश होइन, किरात देश स्थापनाको ठोस कार्यसूचीमा कठोर आन्दोलन निर्माण गर्नुपर्ने अपील रहेको छ ।

आफ्नो कार्यकालको पाँच बर्षमा पनि प्रदेश १ को सभाले प्रदेशको नामाकरण गर्न नसकेको भन्दै बिज्ञप्तिमा भनिएको छ, ‘यही पृष्ठभूमिमा लामो समयदेखि श्रमिकवर्ग र सामुदायिक पहिचान आन्दोलनमा समर्पित रहँदै आउनु भएका अग्रजहरुसंगको गहनतम् सरसल्लाहबाट प्रस्तावित “किरात देश अभियान” नामक अग्रदस्ता (VanGuard) गठनको निर्णय लिइएकोवारे सहर्ष जानकारी गराउँदछौं।’

बिज्ञप्तिको अन्तमा भनिएको छ, ‘यस अवसरमा प्रदेश होइन, अब सिधै किरात देश स्थापनाको निम्ति सबै प्रकारको लडाइँ लड्न सचेत किरातीजन तथा प्रगतिशील बौद्विकहरु समक्ष मुक्ति या मृत्युको संकल्पमा अघि बढ्न जोड्दार अपील गर्दछौं। अभियानको विचारधारा वैज्ञानिक भौतिकवादी हुनेछ। किनकि, देवीदेउराली पुजेर राष्ट्रीय मुक्ति हुँदैन, विज्ञान-प्रविधिको युगका क्रान्तिकारीहरुले मुख्यत: विज्ञानद्वारा आफुलाई सु-सज्जित गर्नै पर्दछ। अभियानको राजनीतिक कार्यदिशा श्रमिकवर्गीय-देशभक्त समाजवादी हुनेछ। किनकि, जीवन-मरणको लडाइँबाट स्थापित गरिने किरात देश श्रमिकवर्गको समाजवादी देश हुनेछ, दलाल पुँजीवादी र सामन्ती अवशेषको किमार्थ होइन।’

 

 

किरात देश अभियानको जोड्दार अपील

किराती जनताले अब प्रदेश होइन, किरात देश स्थापनाको ठोस कार्यसूचीमा कठोर आन्दोलन निर्माणको क्रान्तिकारी झण्डा उठाउनै परेको छ। पूर्वी नेपालको प्रदेश १ लाई पहिचानको प्रदेश नामाकरणका लागि आम जनताले शान्तिपूर्ण मागहरु लगातार दर्ज गरे। विभिन्न विचारधाराका राजनीतिक कार्यकर्ता र मुख्यत: राई यायोक्खा, याक्थुङ चुम्लुङ, याक्खा छुम्मा, सुनुवार सेवा समाजलगायत प्रगतिशील बौद्विकहरुले आफ्नो तागतले भ्याएसम्म संघर्ष गरेका छन। प्रदेश २ को मधेश नामाकरणले किराती जनता स्वभाविक रुपमा उत्साहिए भए। उत्साहित किरातीजन तथा प्रगतिशील बौद्विकहरु किरात, लिम्बुवान, कोचिला तथा शेर्पालुङ नामाकरणको पक्षमा हदैसम्म प्रयत्नशील बने। परन्तु, आफ्नो कार्यकालको पाँच बर्षमा पनि प्रदेश १ को सभाले प्रदेशको नामाकरण गर्न सकेन।

वास्तवमा पहिचानको प्रदेश नामाकरण एक तुच्छ माग थियो। जनताको यत्ति तुच्छ माग पनि स्वीकार गर्न नसक्ने काठमाडौं निर्देशित गोर्खाली अन्धराष्ट्रवादी राजनीतिक दलहरुबाट अब किराती जनताले केही अपेक्षा गर्न सकिँदैन। काठमाडौं केन्द्रीत दलहरुबाट कुनै अपेक्षा भनेको केवल आफ्नो घुँडामा आफै बन्चरो हान्नु सरह मात्र हुनेछ। यही पृष्ठभूमिमा लामो समयदेखि श्रमिकवर्ग र सामुदायिक पहिचान आन्दोलनमा समर्पित रहँदै आउनु भएका अग्रजहरुसंगको गहनतम् सरसल्लाहबाट प्रस्तावित “किरात देश अभियान” नामक अग्रदस्ता (VanGuard) गठनको निर्णय लिइएकोवारे सहर्ष जानकारी गराउँदछौं।

यस अवसरमा प्रदेश होइन, अब सिधै किरात देश स्थापनाको निम्ति सबै प्रकारको लडाइँ लड्न सचेत किरातीजन तथा प्रगतिशील बौद्विकहरु समक्ष मुक्ति या मृत्युको संकल्पमा अघि बढ्न जोड्दार अपील गर्दछौं। अभियानको विचारधारा वैज्ञानिक भौतिकवादी हुनेछ। किनकि, देवीदेउराली पुजेर राष्ट्रीय मुक्ति हुँदैन, विज्ञान-प्रविधिको युगका क्रान्तिकारीहरुले मुख्यत: विज्ञानद्वारा आफुलाई सु-सज्जित गर्नै पर्दछ। अभियानको राजनीतिक कार्यदिशा श्रमिकवर्गीय-देशभक्त समाजवादी हुनेछ। किनकि, जीवन-मरणको लडाइँबाट स्थापित गरिने किरात देश श्रमिकवर्गको समाजवादी देश हुनेछ, दलाल पुँजीवादी र सामन्ती अवशेषको किमार्थ होइन।

आन्दोलन विकासक्रममा भावी किरात देश महासंघीय नेपालको सदस्य राज्य बन्ने समझदारी हुन पनि सक्छ, तर प्रदेश किमार्थ होइन।

लाल सलामसहित!

(बुद्विकर्ण देवान)

संयोजक, किरात देश अभियान