“आदिवासी” नामपछि मात्र थपिएको “नेपाल जनजाति महासंघ” र सम्बद्व विवरणहरु
गोपाल किराती
२०४७ बैसाख ७ गते काठमाडौं, लाजिम्पाटको फेरिल्याण्ड अप्सरा स्कुलमा एक भेला आयोजना गरियो। हाम्रै पहल र सन्चालनमा आयोजित त्यस भेलाले तत्कालीन लाङ्घाली संघका सुरेश आलेलाई छाता संगठन निर्माण भेला आयोजनाका लागि संयोजनको जिम्मा दिइयो। त्यस बेला आदिवासीहरुको विभिन्न संस्थाहरुमध्ये लाङ्घाली संघ (२०४८ मा मगर संघमा रुपान्तरित) सक्रीय देखिएको हुँदा त्यसको महासचिव आलेलाई त्यो जिम्मा दिइएको थियो।
२०४७ बैसाख २२ गते काठमाडौंको ताहाचल क्याम्पसमा भेला आयोजना गरियो। विभिन्न जातीय संस्थाहरुको एकल छाता संगठनको नाम के राख्ने भनी छलफल भयो। भेलामा उपस्थितमध्ये हामीले “नेपाल आदिवासी महासंघ” प्रस्ताव गर्यौं। तर, भेलाले हाम्रो प्रस्ताव अस्वीकृत गर्दै “नेपाल जनजाति महासंघ” नामाकरण गर्यो।
त्यसको केही बर्षपछि संयुक्त राष्ट्रसंघले “विश्व आदिवासी दिवश” र “विश्व आदिवासी दशक” जब घोषणा गर्यो, बल्ल नेपाल जनजाति महासंघले “आदिवासी” शब्द स्वीकार गर्दै हतार-हतार “नेपाल आदिवासी जनजाति महासंघ” नाममा आफुलाई पुनर्गठन गर्यो। अन्यथा त्यस अघि नेपालमा आफुलाई जनजाति बताउने संस्थाका ती अगुवाहरु “आदिवासी (Aboriginal )” थिएनन्। किनभने, ताहाचल क्याम्पसको त्यस भेलामा हामीले भन्दाभन्दै “आदिवासी” शब्दको नामलाई तिनले एक मतले अस्वीकार गरेका थिए।
*****************************
२०४५/४६ मा हामी सोलु-राजविराज कारागारको पाहुना बन्यौं। स्वतन्त्र मार्क्सवादी गतिविधि गरेको हुँदा पञ्चायती शासनले हामीलाई दश महिना कारावासको सजाय दिएको थियो। २०४६ भदौमा हामीलाई तारेखमा छोडिएको थियो। बिस्तारै जनआन्दोलनको चर्चा बढ्दै थियो। २०४६ को जनआन्दोलनले निर्दलीय व्यवस्था खारेज गर्यो। जसै १४ अञ्चलाधीश कार्यालय पनि खारेज भयो। राजविराजमा सदरमुकाम जमाएर बसेको तत्कालीन सगरमाथा अञ्चलाधीश कार्यालयस्थित हामी विरुद्वको राजकाज मुद्दा स्वत: खारेजीमा पर्यो।
यहाँ यो विवरण प्रस्तुतिको खास उद्देश्य जातीय मुक्तिको सवालमा हामी कसरी आइपुग्यौं, भन्नेवारे संक्षिप्तमा प्रकाश पार्न खोज्नु रहेको छ। जुन सवालमा हामीले सोलु-राजविराज जेल यात्राका दौरान आत्मनिर्णय लिएका थियौं।
दार्जीलिङमा सुबास घिसिङ्को नेतृत्वमा सञ्चालित गोर्खाल्याण्ड आन्दोलनले हामीहरुको गम्भीर ध्यानाकर्षण गरेको थियो। त्यही सिलसिलामा “पारुहाङ मासिक” का सम्पादक तीलक चाम्लिङसंग गाउँमा भेट पनि भयो। माघ २०४३ को त्यस भेटमा चाम्लिङ्ले जातिवादी कुरा गरे भने हामीले वर्गको तरफदारी लियौं। ६ घण्टाको त्यस वहशमा हामी कुनै निश्कर्षमा पुग्न सकेनौं। बिना निश्कर्ष हामीहरु छुट्टियौं। तर, त्यस वहशबाट (यध्यपि अविश्वसनीय रुपमा) हाम्रो दिमागमा केही प्रश्न भने गड्न पुगेको थियो।
खुशीको कुरा भन्नै पर्छ, २०४० देखि बनेको यो जीवनको वर्गीय मुक्तिको सवाल र २०४५ देखि बनेको जातीय मुक्तिको सवाल संयोजनको क्रान्तिकारी यात्रा अविराम जारी छ।
घल राई सम्पादनको “कोङ्पी मासिक” को एक अंक २०४४ मा पढ्न पाइयो। त्यसमा घल राईको एक विस्तृत आलेख रहेछ, शीर्षक थियो- “नेपालमा आदिवासीहरुको अँध्यारो यात्रा”, जो पढियो।
आलेखमा राममणी आचार्य दीक्षितको कविताको एक अंश उल्लेख थियो। २००८ मा प्रकाशित “भलो कुराको नमूना” शीर्षक कविता, जसको विमोचन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरेका रहेछन। कविताको अंश थियो-
जंगली, स्वाँठे, पाखे, तिघ्रे, भुसतिघ्रे, डोके, खर्पनेको देश हो नेपाल
भगवान यिनीहरुलाई यस्तै रहन देऊ
यिनीहरु सभ्य र शिक्षित भए हाम्रो सिरीखुरी कहाँ जाला?
मन्त्रीमण्डल जोड्दा बाहुन क्षेत्री लिनु,
त्यो पनि उच्च कुलको
मतवाली कोही नहुल्नू।
यस्तो कविता, त्यसमाथि देशको प्रधानमन्त्रीले गरेको विमोचन पढेपछि निश्चित रुपमा हामीमा प्रतिरोधको भावना जागृत हुने नै भयो। तर, जातीय सवाल राजनीतिक सवाल हो, भन्ने निश्कर्षमा पुग्न भने सकिराखिएको थिएन। कात्तिक २०४५ मा जब सोलु-राजविराज जेल यात्रा गरियो, त्यहाँभित्र सोंच विचार गर्ने बाहेक अरु भूमिका केही रहेन। जेलभित्र कोही कसैसित जातीय सवालवारे छलफलको गुञ्जायश थिएन। परन्तु, कडा प्रकारको चिन्तन-मननको परिणामस्वरुप फागुन २०४५ मा हामी वैचारिक आत्मनिर्णयको तहमा पुग्यौं, त्यो थियो-वर्गीय र जातीय सवाल दुवै जरुरी छ! हामी गरिब भएको हुनाले हामीलाई वर्गीय मुक्तिको नीति जरुरी छ अनि राममणी आचार्यदीक्षित र मातृकाप्रसाद कोइरालाको बाहुनवादी राज्यले हदैसम्म अपमानित गरेको हुनाले हामीलाई जातीय मुक्तिको नीति जरुरी छ!
*****************************
२०३९ देखि ट्रेकिङ मजदुरीका निम्ति हामी काठमाडौं आयौं। त्यसै क्रममा साइँली नाना तिर्थ राईको माध्यमले बेलायती गोर्खा भर्तीमा जाने प्रयासमा हामी लाग्यौं। तर, साइँली भेनाजू हरिनारायण राईले देश र जनताको लागि क्रान्ति गर्नुपर्छ, भनेर जोड दिनु भयो। “क्रान्ति” शब्द प्रथम पटक सुनेका थियौं। तब “क्रान्तिले के गर्छ” भनेर हामीले सोध्यौं। भेनाजूको जवाफ थियो- “क्रान्तिले शोषकलाई मास्छ र गरिबको राज्य बनाउँछ।” यसरी मंसीर २०४० देखि हामी शोषकलाई मास्ने र गरिबको राज्य बनाउने संकल्पमा वर्गीय मुक्तिको विचारमा उभियौं। पछि थाहा भयो, साइँली भेनाजू क. निर्मल लामा समुहमा आवद्व सदस्य हुनुहुन्थ्यो।
जब हामी तारेखमा छुटेर राजविराजबाट काठमाडौं आयौं, जातीय मुक्तिको सवाल उठाउने कम्युनिस्ट पार्टीको खोजीमा लाग्यौं। कोही कतै भेटिएन, किनभने त्यस्तो पार्टी नै थिएन। खोटाङ र भोजपुरका केही पढालेखा साथीहरु थिए, कुरा गर्यौं। तर, कसैले सहमति गरेनन्। एक सदस्यीय पार्टी हुन्छ, भन्ने हामीलाई थाहा थिएन। अन्यथा फागुन २०४५ मै हामीले “किरात कम्युनिस्ट पार्टी” गठनको निश्चय गरेका थियौं। फेरि पनि हामीहरुवीच, काठमाडौंमा आदिवासी युवाहरुको राम्रै समूह बन्न पुगेको थियो। हामी बाहेक ती साथीहरु सबै उच्च शिक्षा अध्ययन गरेका वा अध्ययनरत थिए। तर, भौतिक सक्रीयता र राजनीतिक दृढता हामीमा बढि थियो। त्यसैले सामान्यतया हामीले नै समुहको अगुवाई गरिरहेका थियौं। परन्तु, एकाध बाहेक त्यस समुहमा तत्कालीन माले निकटका युवाहरु थिए र हामीलाई घुमाएर उता लैजाने रणनीतिमा उनीहरु रहेको बुझिन्थ्यो।
त्यही समुहको स्वतन्त्र योजनामा २४ चैत २०४६ को सडक आन्दोलनमा हामी सहभागी भयौं। दरबारमार्गको भिडन्तमा थोरैले ज्यान बच्यो। हामी गम्भीर घाइते बन्यौं। महाराजगञ्ज शिक्षण अस्पतालमा हाम्रो टाउकोमा आठवटा टाँका लगाउनु पर्यो। पछि संयुक्त वाममोर्चाले “जनआन्दोलन र सहिदहरु” शीर्षक पुस्तिका प्रकाशित गर्यो। त्यसमा हाम्रो पनि नाम थियो। त्यस अनुसार त्यत्रो जनआन्दोलनमा राईकिराती पहिचानका केवल दुई जना घाइते बनेका रहेछौं, ईलामका एक जना र हामी।
अस्पतालबाट निस्कनासाथ समुहका साथीहरुको छलफल आयोजना गरियो। विषय त्यही हो, जातीय मुक्तिको सवाल उठाउने पार्टी बनाउने कि छाता संगठन? छलफल निकै अस्वस्थ हुन खोज्यो। पार्टी बनाउने केवल हामी एक जना, तर छाता संगठन बनाउने उपस्थित सबै जना। त्यसैवीच कसैले प्रस्ताव गरे- “हामी भन्दा अग्रजहरुको भेला बोलाओँ। त्यसले जे भन्छ, त्यही गरौं!” बाध्यात्मक सहमति गरियो। सो अनुसार बैसाख ७ गते लाजिम्पाटमा हामीले कथित अग्रजहरुको भेला बोलायौं। उपस्थित ८३ जना सबैले छाता संगठन भने। यसरी लाङ्घाली संघलाई संयोजनको जिम्मा तोकियो।
हामीले भने राजनीतिक पार्टी निर्माणको खोजी जारी राख्यौं। एमएस थापा र गोरेवहादुर खपाङ्गीले “जनमुक्ति मोर्चाको कार्यक्रम” मस्यौदा तयार गरेका रहेछन। घनिभूत छलफलसहित पार्टी गठन गरियो। दुई बुढाहरु कम्युनिस्ट नभए पनि जातीय सवाल उठाउने वामपन्थी चाहिँ पक्कै हुन, भनेर लागियो। तर, बर्ष दिन नपुग्दै राजावादी भएको ठहरपछि उहाँहरुसंगको पिण्ड छुटाएर हामी पूर्वतिर लाग्यौं।
खुशीको कुरा भन्नै पर्छ, २०४० देखि बनेको यो जीवनको वर्गीय मुक्तिको सवाल र २०४५ देखि बनेको जातीय मुक्तिको सवाल संयोजनको क्रान्तिकारी यात्रा अविराम जारी छ। विश्व आदिवासी दिवशको अवसरमा यो साल यत्ति नै।
गोपाल किरातीको फेसकबुकबाट लिईएको हो ।



