–निनाम लोवात्ती

आफनो नामको अगाडि बुद्धिजीवी, लेखक, विश्लेषक, विद, विज्ञ, कार, कर्मी वरिष्ठ आदिका फुर्को भुन्ड्याएका वा झुन्ड्याईएका महानुभावहरु, दैनिक, साप्ताहिक, पाक्षिक पत्रपत्रिका र तिनमा कार्यरत पत्रकारहरु, अनलाइनकर्मी, यु–ट्युबवालाहरु, एफएमकर्मी, टिभीवालाहरुलाई ‘पप्पी अर्थात् रिमेम्बरेन्स डे’ बारे खासै थाहा छैन होला ? तापनि लगभग तीन वर्षअघि (सन् २०१९ नोभेम्बर ११ का दिन) नेपालमा पनि बेलायती सेनामा काम गरेर पेन्सन पकाएका भूपू तथा तिनका परिवारहरुले ‘पप्पी अर्थात् रिमेम्बरेन्स डे’ मनाएका थिए भनी ऊ वेला समाचार आएको थियो । तर, सन् २०२०, २१ र २२ मा भने, कोरोना महामारीका कारण बेलायती सेनामा काम गरेर पेन्सन पकाएका भूपू तथा तिनका परिवारहरुले औपचारिक रुपमा ‘पप्पी अर्थात् रिमेम्बरेन्स डे’का रुपमा मनाउन सकेनन् होला ! किनभने त्यसपछि सोबारेमा कुनै समाचार आएको छैन, पढ्न पाएको छैन ।

त्यसो त ‘पप्पी’ शब्दलाई विकशित देशका प्रायः सबै जनताहरुले र अल्पविकसित वा भनौं विकाशशील भनिने देशका सहरबजारमा बस्ने मान्छेहरुले ‘कुकुर वा कुकुरको छाउरा–छाउरी !’ भन्ने अर्थमा बढी बुझछन । अझ कुकुर पाल्ने धेरै जसो मान्छेहरुले आफनो कुकुर–कुकुर्नी वा छाउरा–छाउरीको नाम पनि ‘पप्पी’ राख्ने गर्छन् । तर, यहाँ उल्लेख गर्न लागेको ‘पप्पी डे’का बारेमाचाहिँ मान्छेहरुले पाल्ने कुकुर, कुकुर्नी र तिनका छाउरा–छाउरीको बारेमा उल्लेख गर्ने उदेश्य नभएर पहिलो विश्व युद्धसँगै जोडिएर आएको ऐतिहासिक घटनासँग सम्बन्धित घटनाहरुको उल्लेख गर्नु रहेको छ ।

हामीमध्ये धेरैलाई थाहा छैन कि, पहिलो विश्व युद्ध सकिएको औपचारिक रुपमा घोषणा गरिएको दिन ‘–सन् १९२१ नेभेम्बर ११ तारिखका’ दिन हो भनेर । अझ सो दिनको पनि ११ बजेर ११ मिनेट, ११ सेकेन्डमा औपचारिक रुपमा पहिलो विश्व युद्ध सकिएको घोषण भएको थियो भन्ने भनाइ रहेको छ । यसरी पहिलो विश्व युद्धको क्रममा युरोपका धेरै गाउँ–वस्ती र सहरबजारहरु ध्वस्त भएका थिए । त्यसरी ध्वस्त भएका युरोपका गाउँ–वस्ती र सहरबजारमध्ये बेल्जियमको प्mल्यान्डर्स सहर पनि नराम्रोसँग ध्वस्त भएको थियो । जसलाई हाम्रा बाजेहरुले पनि फल्यान्डर्सको युद्घ भयंकर थियो भनी सम्झने गर्थे/बखान गर्ने गर्थे । यतिसम्म कि, त्यहाँको सम्पूर्ण मानववस्ती, वन–जंगल, रुख–विरुवा, जीव–जन्तु केही पनि बाँकी रहेन । यसरी युद्ध लड्ने क्रममा सबका सब ध्वस्त भएपछि उजाड भएको त्यो भग्नावशेष भूमिमा युद्धको क्रममा सेनाहरुले वीरगति प्राप्त गरेको ठाऊँमा भने एकाएक तत्कालीन सेनाहरुले लगाउने टोप (छत्रेटोपी) आकारको रातो पूmल लहरै सिपाहीहरु उभिए जसरी लहरै रातो ‘पप्पी’ फूल फूलेको देखियो । के भनिन्छ भने, सो ठाऊँमा रातो पप्पी फूलबाहेक अरु रुख–विरुवाहरु भने केही पनि देखिएन । त्यसैले रातो (पप्पी) फूललाई जीवनको प्रतीक, जीवनको आशा, जीवन जिउने उत्साह, भरोसा, हौसला सम्झेर सो पूmललाई जीवनको प्रतीक मानेर ‘पप्पी डे’ मनाउन थालियो । तर, दोस्रो विश्व युद्धपछि भने सो ‘पप्पी डे’लाई ‘रिमेम्बरेन्स डे’को रुपमा नयाँ ढंगले मनाउन थालियो । सन् २०१९ नोभेम्बर ११ मा मनाईएको ‘पप्पी डे’ अर्थात् ‘रिमेम्बरेन्स डे’ ९८ औं वर्षमा प्रवेश गरेको छ । स्मरणीय छ, सो युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरुको सम्झनामा ‘प्mलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकमा गीत–संगीत पनि रचना गरिएको छ । हाल पहिलो र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेका सबै सैनिकहरुको सम्झनामा यही ‘फलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकको गीत–संगीतको धूनमा सलामी दिने गरिन्छ, बेलायत लगायत अन्य देशको सैनिक क्याम्पहरुमा । त्यस्तै भूूप सैनिक र उनीहरुका परिवार सहभागी भएको (पब्लिक प्रोग्रामहरुमा) कार्यक्रममा सलामी नै नदिइए तापनि सो गीत–संगीतको धून बजाइने गरिन्छ ।
त्यसो त पहिलो र दोस्रो विश्व युद्धमा नेपालीहरुले पनि प्रत्यक्षय लडेका थिए ।

खासगरी आदिवासी जनजाति मूलका जस्तै पश्चिम नेपालका मगर र गुरुङ पूर्वी नेपालका किरातीहरु जो नेपालको भगौलिक एकीकरणपछि ‘राई’ पदवी वा पगरी पाएका कुलुङ लगायत अन्य किरातीहरु र लिम्बु (पछि अरु जातजातिलाई पनि बेलायती सेनाले भर्ती गर्यो वा ती जातजातिका मान्छेहरुले आफनो जात वा थर ढाँटेर भर्ती भए) लाई प्रत्यक्षय रुपमा गोर्खा पल्टन खडा गरेरै भर्ती गराएका थिए भने, तत्कालीन राणा शासकहरुले पनि आफनो तर्फबाट संस्थागत रुपमै पहिलो र दोस्रो विश्व युद्धमा आफनो भाइ–भतिजाको नेतृत्वमा नेपाली सेना ‘सपोर्ट टिम’को रुपमा बेलायती सेनाको पक्षमा लड्नका लागि खटाएको थियो । त्यतिले मात्रै नपुगेर हजारौं हजारको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका अन्य सरसामान लगायत पनि सहयोग गरेका थिए । तर, स्वर्गीय धर्मरत्न येँमी–यमीबाहेक अरु कुनै पनि लेखक वा इतिहासकारहरुले राणा शासकहरुले ‘हजारौं हजारको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको बारे लेखेको वा भनौं उल्लेख गरेको यो पंक्तिकारले अहिलेसम्म पढेको वा भेटेको छैन । स्मरणीय छ, स्वर्गीय धर्मरत्न येँमी–यमीले आफनो किताब ‘नेपालका कुरा’मा राणा शासकहरुले ‘हजारौं हजारको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको उल्लेख गरेका छन् । त्यति मात्रै होइन स्वर्गीय धर्मरत्न येँमी–यमीले आप्mनो किताबमा तत्कालीन राजा श्री ५ त्रिभुवन र तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरबीच भएको बातचित (भनाभन) सम्म पनि उल्लेख गरेका छन् । संभवतः यी लगायतका धेरै कारणले गर्दा उनको सो किताबलाई त्यही बेला प्रतिवन्ध लगाइएको थियो । पछि फेरि विसं २०६० ताका पुनः प्रकाशित भएको प्रति यो पंक्तिकारले पढेको हो । कसैले पढ्न चाहेमा सो किताब यो पंक्तिकारसँग सुरक्षित छ ।

तर, दुःखको कुरो हरेक वर्ष झै यो वर्ष बेलायती सेनामा काम गरेका भुपु सैनिक र उनीहरुको परिवारले नेपालको विभिन्न स्थान जस्तै काठमाण्डौ, पोखरा, धरान आदि स्थानमा विभिन्न कार्यक्रमहरु गरेर ‘पप्पी डे’ मनाउन पाएनन् । त्यसो त धरानका भुपु बेलायती गोर्खा सैनिकहरुले धरान उपमहानगर पालिकाको वडा नम्बर–२० स्थित विष्णु पादुकाको माछामारा डाँडामा पप्पी डे मनाउने सालिक नै निर्माण/तयार गरी सकेका छन् । जसलाई ‘ब्रिटिश गोर्खा स्मृति पार्क’ पनि भनिन्छ । जहाँ गर्त वर्षको ११ नोभेम्बरमा औपचारिक कार्यक्रमसहित आफना दिवंगत वीर पूर्खाहरुको सम्झना गर्दै ‘पप्पी डे अर्थात् रिमेम्बरेन्स डे’ मनाएका थिए । स्मरणीय छ, बेलायती सेनाबाट अवकाश प्राप्त नेपालीहरुबाट वार्षिक लगभग ३४ अर्ब त नेपालमा पेन्सन मात्रै आउँछ भने पहिलो र दोस्रो विश्व युद्ध लगायत बेलायतको पक्षमा लड्ने क्रममा बेलायती सेनामा कार्यरत १३ जनाले भिक्टोयिया क्रस (भिसी) र २ जनाले जर्ज क्रस (जेसी) मेडल समेत पाएका छन् । स्रोतः कुवेर चालिसे, कारोबार दैनिक, ९ वैसाख २०७५ । त्यस्तै बेलायती सेनामा काम गरेका अन्य ६ हजार ५ सय चानचुनले अन्य साना–ठूला मेडलहरु पाएका छन् ।

अन्तमा हाम्रा पितापूर्खा (बृटिश–गोरखा) हरुले बेलायत सरकारको मातहत रहेरपहिलो र दोस्रा विश्व युद्घमा ज्यान गुमाएका हुन्, रगत, पसिना बगाएका हुन् । साथै अझै पनि धेरै बृटिश–गोरखा)हरुले बेलायत सरकारको नुनको सोझो गरी रहेके छन्, विगतमा पनि नुनको सोझो गरेकै हुन् । त्यसैले बृटिश–गोरखा भूपूहरुले बेलायत सरकार समक्ष राख्दै आएको माग जस्तै, वसोबास, स्वस्थ्य सेवा, वृद्घ–वृद्घा हेरचाह (नेपाली पेन्सनर वा उनीहरुका विधवा हेरचाहमा) मा समानता र नर्सको व्यवस्था, पेन्सनमा समानता लगायतका मागहरु जुन छ, त्यो वेला छँदै पूरा गरेर देखाउने आँट र हिम्मत गर्नुपर्ने देखिन्छ । अनि मात्रै विश्वका जनताहरुले बेलायत भन्ने देश र बेलायतको सरकार साँच्चै प्रजातन्त्र, मानवअधिकार, समानता, सामाजिक सुरक्षामा अब्बल छ, ‘मुखमा रामराम बखलीमा छुरा !’ होइन भन्ने देखाउँछ ।

(लेखकको निजी बिचार हो थप केही जाकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com)