खुवालुङ अर्थात ढुङ्गाको बाटो
सुमन बाङदेल
सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको किरात समुदायको सभ्यताको प्रतीक ‘खुवालुङ’ मा आधारित रहेर मण्डला नाटकघरमा नाटक मञ्चन भईरहेको छ । खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् ।
किरात समुदायले आफ्नो जाति, वंश र समुदायको अस्तित्वको आरम्भ बिन्दु यही ‘खुवालुङ’ लाई मान्ने विश्वास रही आएको छ । अर्थात ‘खुवालुङ’ सभ्याताको एक आरम्भ बिन्दु हो । यो ‘खुवालुङ’ ढुँगा सुनसरीको बाराह क्षेत्र खासगरी सुनसरी, उदयपुर एवम् भोजपुर जिल्लाको सिमानालाई छोई बग्ने अरूण नदिको संगम, त्रिवेणीको मध्य भागमा स्थित रहेको छ। वर्षायाममा नदिको पानीको सतह उच्च रहने भएकोले खुवालुङ देखिन गाह्रो हुन्छ तर हिँउदमा यसलाई प्रष्ट अवलोकन गर्न सकिन्छ ।
किरात समुदायको एक सभ्यताको बिम्ब हो खुवालुङ । खुवालुङलाई साक्षी रखेर त्रिवेणीमा मिसिएको नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा हो नाटक ‘खुवालुङ’ ।
सरकारले जेट बोट चलाउनका लागि खुवालुङ फुटाउन तम्सिएपछि पूरै किराती समुदाय राज्यविरुद्ध खरो रुपमा उत्रिँदै आएका छन् । लेखक मुकारुङ भन्छन,‘खुवालुङको मिथ र वर्तमान कुरा नाटकमा हुनेछ । विकासको नाममा प्राकृतिक सौन्दर्य र महत्वमाथि हस्तक्षेप हुनुहुँदैन भन्ने सन्देश नाटकले दिन्छ ।’
खुवालुङ मुन्धुममा आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो । मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन् । मुन्दुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्धुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ । यसैको सेरोफेरोमा रहेर नाटक गरीएको कुरा निर्देशक किरण चाम्लीङ राईले बताए ।
‘जोखाना’ र ‘लाटो पहाड’ नाटक निर्देशन गरेर चर्चा कमाएका रङ्गकर्मी किरण चाम्लिङ राईकै निर्देशन रहेको छ त्यस्तैगरी नाटकलाई साहित्यकार राजन मुकारुङले लेखेको हुन ।
नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सविना थापाक्षेत्री, प्रशंसा गुरुङ, दीपा सुहाङ लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, प्रनिश मगर्, प्रशंसा शिवाकोटी, प्रायदिप राई, मनोज म्याक्सा, रमिता राई, रियार राई, शक्ति राई, सायोक मुकारुङ्, सुशिल तामाङ्, हिरणा राई, याङ्साङ मुकारुङ्, प्रशंसा गुरुङ्, विनोद प्रकाश धामी लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ ।
किरात समुदायको एक सभ्यताको बिम्ब हो खुवालुङ । खुवालुङलाई साक्षी रखेर त्रिवेणीमा मिसिएको नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा हो नाटक ‘खुवालुङ’ । नाटकमा प्रयोग भएका दुई गीतहरूको रचना स्वप्निल स्मृति र राजन मुकारुङको रहेको छ । साथै प्रत्यक्ष गायन तथा वाद्यवादनमा अनुराग थापा, संजीत थुलुङ र पवित्र राईको रहेको छ ।
नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ । नाटक सोमवार बाहेक सबै दिन १ बजे चल्नेछ, शुक्रवार र शनिवार १ बजे र ५ बजे दुई शो हुनेछ । पहिचानको आन्दोलन प्रदेश नं. १ मा चलेको बेला यता नाटक ‘खुवालुङ’ मन्चन हुन गज्जवको संयोग मिलेको छ ।





