टेस्लाका सिइओ तथा धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर नकिन्ने भएका छन्।

४४ बिलियन डलरमा किन्न गरिएको सम्झौताका कतिपय प्रावधानको उल्लंघन गरेको भन्दै शुक्रबार उनले ट्विटर नकिन्ने बताएका हुन्।

मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ। ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्जर सम्झौता लागू गराउन आफूहरू अदालत जान लागेको बताएका हुन्।

मस्कसँग सहमत भएको मूल्य र सम्झौतालाई बन्द गर्न ट्विटर बोर्ड प्रतिबद्ध छ,’ उनले ट्विटमा भनेका छन्,‘र मर्जर सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना छ। हामी डेलावेर कोर्ट अफ चान्सरीमा विजयी हुनेमा विश्वस्त छौं।’

 

मस्कले ट्विटरमा हुने नक्कली तथा स्प्याम अकाउन्टहरूको बारेमा सूचना मागेका थिए। तर पटकपटक सूचना माग्‍दा पनि ट्विटरले नदिएको मस्कका वकिलहरूले बताएका छन्।

उनले गत अप्रिलमा ट्विटर किन्ने बताएका थिए। तर आफूले मागेको सूचना नदिने भएपछि उनी पछि हटेका हुन्। उनीहरूले गरेको मर्जर सम्झौताबाट छुट्टिन एक बिलियन डलर मूल्य तिर्नुपर्ने उल्लेख गरिएको छ।

मस्कले ट्विटर नकिन्ने घोषणा गरेपछि यसको सेयर पनि ७ प्रतिशतले घटेको बिबिसीले जनाएको छ। मस्कले पछिल्लो केही हप्ता यता ट्विटरका सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी लिन चाहिरहेका थिए।

ट्विटरले बिहीबार मात्रै एक मिलियन स्प्याम अकाउन्टहरू हटाएको थियो। अदालतको कारबाही प्रक्रिया केही हप्‍तामै सुरू हुने ट्विटरले जनाएको छ। र यसको समाधान पनि केही महिनामै हुनेमा ट्विटर विश्वस्त छ। एजेन्सी