काठमाडौं । आगामी साउन ६ गतेदेखि २९ गतेसम्म (साेमबारबाहेक) काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ’ अर्थात् ढुंगाको बाटो मञ्चन हुने भएको छ ।

सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको किरात समुदायको सभ्यताको प्रतीक ‘खुवालुङ’ मा आधारित रहेर नाटक मञ्चन हुन लागेको हो ।

सरकारले जेट बोट चलाउनका लागि खुवालुङ फुटाउन तम्सिएपछि पूरै किराती समुदाय राज्यविरुद्ध खरो रुपमा उत्रिँदै आएका छन् ।

लेखक राजन मुकारुङले त खुवालुङ फुटाउने राज्यको कदमविरुद्ध अग्रमोर्चामा उभिएर खुवालुङ नाटक नै लेखेका छन् । जुन साउन ६ देखि मण्डलमा प्रदर्शन हुँदैछ ।

लेखक मुकारुङ भन्छन,‘खुवालुङको मिथ र वर्तमान कुरा नाटकमा हुनेछ । विकासको नाममा प्राकृतिक सौन्दर्य र महत्वमाथि हस्तक्षेप हुनुहुँदैन भन्ने सन्देश नाटकले दिन्छ ।’

चर्चित नाटक ‘जोखाना’ र ‘लाटो पहाड’ निर्देशन गरिसकेका किरण चाम्लिङ राईले खुवालुङको पनि निर्देशन गर्दैछन् ।

नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, सविन थापा क्षेत्री, अनुप थापा, प्रशंसा गुरुङसहित ३० जना कलाकारको बेजोड अभिनय देख्न सकिनेछ । नाटकमा अभिनेता दयाहाङ राईको पनि कुनै न कुनै भूमिका देख्न सकिने बताइएको छ ।