काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।

गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेकोहो ।

अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए ।

डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।

राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे । याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए ।

गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।

यस जितसँगै गुजरातले राजस्थानलाई लगातार तेस्रो खेल हराउँन सफल भएको छ ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको हो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले पुन: गुजरातसँग भेट पक्का गरेको हो ।