गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबन्डा

सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।
योसँगै ६ महानगरमध्ये कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।
उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्।
कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।
यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौँ र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।
उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।
सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा बुधबार हस्ताक्षर गरिएको हो ।
गठबन्धनका दलहरुले जारी गरेको संयुक्त विज्ञप्ति
.jpg)
