खोटाङ केपिलासगढी गाउँपालिकामा भलिबल प्रतियोगिता हुँदै

उमेश राई
खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका बाक्सिलामा नयाँ बर्ष २०७९ को उपलक्षमा ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सहित, प्रथम अन्तरपालिका महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । २०७९ बैशाख ५ गते बाट सुरु भइ बैशाख ८ गते सम्पन्न हुने गरि आयोजना हुन लागेको सो प्रतियोगितामा देशै भरिका पालिकाका खेलाडीहरुले भाग लिन सक्ने जानकारी आयोजकहरुले दिनु भएको छ ।
स्थानीय खेलाडीहरुलाई प्रोत्साहन र प्रेरित गर्ने मुख्य लक्ष्यसहित आयोजना गरिएको सो खेलप्रतियोगितामा पुरुषतर्फ एक जना र महिलातर्फ दुई जना खुल्ला खेलाडी राख्न सकिने जानकारी पुर्व खेलाडी तथा रेफ्री समेत रहेका आयोजक सदस्य धनकुमार राईले बताउनु भयो ।
त्यस्तै एक समय जिल्ला तथा पुर्वाञ्चलमा तहल्का मच्याउन सफल खोटाङको टिम बाक्सिलामा पछिल्लो समयमा भलिबल खेल सुस्ताउँदै गएको देखिएकोले भलिबल खेल पुनरुत्थानको लागि सो भलिबल प्रतियोगिता आयोजना गरिएको अर्का आयोजक सदस्य प्रणेश राईले बताउनु भयो ।
सगरमाथा तेक्वान्दो डोजाङ केपिलासगढि खोटाङको प्रशिक्षक समेत रहनु भएका खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिको अध्यक्ष अनिल राई ‘युवराज’ले आफु मार्सल आर्टसँग सन्बन्धित भए पनि पनि यो ठाउँको पुराना भलिबल खेलाडीहरुलाई आदर सम्मान र नयाँ खेलाडीहरुलाई माया, सद्भाव र प्रेरणा जगाउँन आफु पनि आयोजक टिममा रहेको बताउनु भयो ।
आफुले थाहा पाउँदादेखि हालसम्म यस्तो खाले प्रतियोगिता आफ्नो ठाउमा आयोजना गरिएको जानकारी नभएको र यो खेलले आफु र आफु जस्ता खेलाडीहरु र खेलप्रेमीहरुलाई उत्साहित बनाएको स्थानीय खेलाडी बिनिता राई, शिखा राई तथा मिसन राईले बताए ।
जिल्लामै निकै ठूलो पुरस्कार रासी भएको यो प्रतियोगिता गाउँपालिकाको आधा भन्दा कम र त्यो भन्दा धेरै सहयोग शुभचिन्तकहरुले गर्नुहुने सहयोगमा आधारित भएकोले यो प्रतियोगितालाई सफल बनाउन देशबिदेशमा रहनु भएको शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा आवहान गरिएको आयोजक समुहले जानकारी गराएका छन् ।