Logo

किन लगाउने टाइफाइडविरुद्धको खोप ?


काठमाडौं । सरकारले भोलिदेखि देशभरका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानको औपचारिक सुरुवात आज नै प्रधानमन्त्री शेरबहादुर देउवाबाट भइसकेको छ । यो उमेर समूहका करिब ७५ लाख बालबालिकालाई लक्षित गर्दै सरकारले गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा यो अभियान चलाउँदै छ ।

यसअघि टाइफाइडविरुद्धको खोप स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको भएपनि अभियानकै रूपमा भने पहिलोपटक सरकारले बृहत अभियान सञ्चालन गर्न लागेको हो ।

किन लगाउने टाइफाइडविरुद्धको खोप ?

टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण देखिन्छन् । कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन सक्छन् । यो रोगको संक्रमणपश्चात केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिस्क सम्बन्धी समस्याजस्ता जटिलता देखा पर्नसक्छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष १ लाख ५ हजार जनामा टाइफाइड संक्रमण देखिने गरेको छ भने १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । तीमध्ये ५९ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । त्यसैले पनि टाइफाइडविरुद्धको खोप अभियानलाई सरकारले महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको छ ।

कहाँ र कहिले पाइन्छ खोप ?

टाइफाइडविरुद्धको खोप अभियान देशभर भोलि आर्थत् चैत २५ गतेदेखि सञ्चालन हुँदै छ । स्थानीय तहहरूले तोकेअनुसार ५० हजार केन्द्रबाट खोप दिइने छ । लक्षित वर्गमा विद्यालय उमेरका बालबालिका रहेका हुनले विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अभियान वैशाख १८ गतेसम्म चल्ने छ ।

खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?

टाइफाइड विरुद्धको खोप एक डोज लगाउनुपर्दछ । यो खोप लगाइसकेपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदि असर देखिनसक्छन् ।  यस्ता सामान्य असरहरू बिस्तारै आफैं ठिक भएर जान्छन् । यीबाहेक अन्य लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

कस्तो अवस्थामा नलगाउने खोप ?

विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा टाइफाइडविरुद्धको खोप लगाउनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कूपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्