Logo

‘यलम्बर’ नामको मूल्य के हो ?


-आशकुमार राई 

अहिले बजारमा यलम्बरको नाम लेखिएको किसिम- किसिमको ट्यागहरु झुण्ड्याएर व्यापार गरिरहेको पाईन्छ। हुन त यो ब्यापारिक दुनियाँ हो। यस अर्थमा व्यापार गर्नु ठिक होईन भन्नू, गलत कुरो ठहरिन्छ होला। तर बिषय त्यस्तो होईन। प्रश्न यहाँ नीर हो कि, यलम्बरलाई नै एउटा ट्रेडमार्क बनाएर व्यापार गर्न कत्ती ठिक छ ? या बेठिक छ ? त्यो जायज छ ? वा छैन ? खास यलम्बर नामको मूल्य के हो ? भन्ने एक किसिमको सवाल जबर्जस्त ढंङ्गले उभिन आएको हुनाले यो बिषयमा लेख्नु परेको हो। लेखप्रती सहमत वा असहमत हुन सबैलाई खुल्ला छ।

बिषय बस्तु तिर लागौं, यहाँ यलम्बर मात्र एउटा फगत नाम मात्रै हो त ? कि एक जना शासक हो ? या एक जना कुनै मानेमा चर्चित ब्यक्ती हो? वा त्यो भन्दा बढी अरु के हुन यलम्बर ? यी प्रश्नहरु अहिलेको बदलिँदो नयाँ समाज र उक्त बदलिँदो समाजको नबिनतम उत्पादक शक्ति र उत्पादक सम्बन्धहरुकोवीचको साँघुरो खोँजमा टुसाई रहेको छ। तर, त्यो बजार र त्यो बजारको उपभोक्ताबादी जिवनलाई यी टुसाई रहेको प्रश्नहरुको वास्ता छैन।

बरु दुईतिरको सडक पेटिको खोँजतिर आ-आफ्नो ब्राण्डको डिजिटल बिज्ञापन बोर्डसहितको सजि-सजाउ दोकानहरु पो थापिएका छन। र, मानिसहरु त्यो ब्राण्डको ट्यागसहितको माल बेच्न तल्लिन छन। या उक्त ट्याग-वाला-माल बजारमा किनबेच गर्न मोल मोलाई गरिरहेका छन। हो, यहिँ अस्वस्थ प्रतिस्पर्धा भएको उपभोक्ताबादी रंङ्गिन बजारको एउटा सस्तो ब्राण्डको ट्याग बनिरहेको छ। हाल ‘यलम्बर’ र बेचिरहेका छ्न यलम्बरको ट्याग झुण्ड्याईएको विभिन्न चल्तिका माल। र, बनाई रहेका छन ब्यापारको एक परिचायक चौतारी जहाँ मालको किनबेच हुन्छ। अनि यलम्बर क्रेताको लागि कहिँ सस्तो र बढी उपयोगी त कहिँ अलि महंगो छ। र बिक्रेताको लागि उन्नत र गौरबको ब्राण्ड र लोगो बनेको छ हाल ‘यलम्बर’।

के यत्ती नै हो त यलम्बरको उपयोगिता महत्व अनि उस्को मूल्य ? होईन। किनकी यलम्बरको ईतिहाँस र उस्को ऐतिहासिक भुमिकाले यी सबै सबै कुराहरुको खारेज गरिदिन्छ। र उसको ऐतिहाँसिक तथ्यहरुले भन्छ कि यलम्बर बजारमा बिक्री हुने मालसंगै झुण्डिने कुनै पनि किसिमको ट्याग होईन र यलम्बर बिज्ञापनको साधन पनि होईन। यलम्बर मात्र एउटा अमुख नाम होईन। एउटा शासक र ब्यक्ती मात्र पनि होईन। त्यो भन्दा बढी बरु ‘यलबर नाम त करिब पाँचहजार बर्ष भन्दा पुरानो यहिँ माटोको एउटा मौलिक र उन्नत दर्शनद्वारा सन्चालित शत्ताको राजजीतिक प्रणाली र त्यो शत्ताको प्रतिबिम्ब हो। उक्त शत्ताको संचालक तथा मानक हो। उक्त दर्शनको अनुयायी हो। कार्यनीतिक क्षमता भएको एक उत्कृष्ट नेतृत्व तथा उक्त शत्ताको मियो हो। र, एउटा निक्कै उन्नत र महत्त्वपूर्ण समय हो। जसको आफ्नै विधि छ। आफ्नै बिधान शासकीय संम्रचना, शत्ता र संस्कृति छ। र, आफ्नै प्रणाली अनुसारको छुट्टै समाज, अनि छुट्टै विश्व ब्रमण्डिय धारणा र समाजप्रतीको दृष्टिकोण छ। त्यस कारण यलम्बर नाम एउटा कुनै अमुक मालको ट्याग भन्दा निक्कै पृथक अनि माथिको नाम हो।

त्यस कारण यत्ती भब्य किरात महासभ्यताको एउटा कडिको रुपमा यो समाजमा स्थापित भएको ऐतिहाँसिक पात्र यलम्बर, नामलाई सर्बत्र रुपमा स्थापित गर्न खोज्ने मनसाय त एउटा अर्थमा ठिकै मान्न सकिन्छ। तर पनि किन यत्ती सानो एउटा खुद्रा दोकान, तथा एनजिओको धारमा उभिरहेको संस्थासंग स्थापित गरिदैछ ? हामी भित्रको अज्ञानताको कारण ? कि बजारिया प्रभाबको कारण हो ? या त नियत बस यसरी गरिँदैछ ? अहिलेको महत्वपूर्ण प्रश्न यो हो।

जस्तै: उदाहरणको लागि केही समय अघि किरात समुदायको माझ एउटा गायन प्रतियोगिता, चलिरहेको थियो। जस्को नाम थियो। यलम्बर अनलाईन गायन प्रतियोगिता। यो एउटा उदाहरण मात्रै हो। अरु थुप्रै यस्ता ट्यागहरु लगाईएका दोकान र संघ संस्थाहरु छन। यलम्बर प्रतिष्ठान, यलम्बर मासु पसल, यलम्बर किराना पसल, यलम्बर गेष्ट हाउस, अनेक नाम दिएर यलम्बरलाई यो पुँजिबादी बजारसंग जबर्जस्ती जोडि रहेका छन।

यी सबै पुँजिबादी बजार अनुसार ठिक हुन सक्दछ। कि यलम्बर एउटा सामान्य तथा चर्चित मानिस सोसरहको ब्यक्ती तथा एक ब्राण्डको नाम हुनुको अर्थमा। तर फेरि यी सबै गलत हुन सक्दछ। कि यलम्बर एक अलग्गै दर्शन र शत्ताको ऐतिहाँसिक कडिको रुपमा स्थापित पात्र अथवा उक्त ऐतिहाँसिक सत्ताको मानक हुनुको अर्थमा। यहाँ यो मध्यमा यलम्बर कुनचाहिँ हुन त ? भन्ने प्रश्न खडा हुनु स्वाभाविक छ।

अत: यलम्बरको बारेमा माथि उल्लेख गरिए अनुसार, यी माथिको मध्य यलम्बर एक असाधारण नाम हो। जस्को नामसंग एउटा विशाल ऐतिहासिक महासभ्यता, संस्कृति र प्रणाली जोडिएको छ। त्यसैले यी उल्लेखित यलम्बर गायन प्रतियोगिता, नामको गायन प्रतियोगिता आफैमा अत्यान्तै सुन्दर छ तर गायन प्रतियोगितामा यलम्बर नाम बाहेक अरु साँस्कृतिक नामहरुबाट नामाङकण किन गरिएन ? त्यसो गरिएको भए के हुन्थियो र ? के यलम्बरलाई साँस्कृतिक करण मात्रै गर्न त खोजिएको त हैन ? भन्ने गम्भीर प्रश्नहरु स्वाभाबिक रुपले खडा भईरहेको छ। अर्को कुरा केही मानिसहरुले यलम्बर प्रतिष्ठान खोलेर उक्त प्रतिष्ठानबाट केही सकारात्मक कामको सुरुवात गर्ने संकेत सम्म त देखाएको छ।

तर आगामी दिनमा उक्त प्रतिष्ठान सन्चालकहरुले एउटा साउजी बर्गलाई समेटेर अथवा अमुक पार्टीसंग जोडेर पार्टी करण गरेर अनि साउजिकरण गरेर आफ्नो सिमित स्वार्थको प्रयोजनमा मात्र प्रयोग गर्ने एनजिओ आईएनजिओको रुपमा स्थापित गर्दै अगाडि बढ्छन कि समग्र किरात सभ्यता संस्कृति, किरात दर्शन अनि किरात सामाजिक शत्ताको नायकको रुपमा यलम्बरलाई स्थापित गर्दै अगाडि बढ्छन ? त्यो आगामी दिनमा हेर्न बाँकी छ। अर्को कुरो यो राज्यशत्ताको बैकल्पिक सत्ताको लायक, उन्नत दर्शनको एक ब्यावस्थीत शासन ब्याबस्थाको पहिलो नायक यलम्बर, एक सामान्य प्रतिष्ठानहरुको लागि मात्र योग्य नाम हो त ? नत्र किन प्रतिष्ठानहरुसंग यलम्बरको नाम जोडिएर आईरहेको छ ? यो यलम्बरको सम्मान हो कि अपमान हो ? जसले एउटा साधारण मान्छेको कदमा यलम्बरलाई बराबरी हैंसियतमा जबर्जस्त उभ्याएको छ। यदि यो यलम्बर प्रतिष्ठान यलम्बरको त्यो ऐतिहाँसिक शत्ताको अस्तित्व स्थापित गर्न खडा भएको हो भने आगामी दिनमा यो प्रतिष्ठानले यो शत्तासंग आफ्नो अस्तित्वको खोजी गर्छ कि गर्दैन ? यी कुराहरुलाई पनि हेर्नको लागि अरु केही समय कुर्नै पर्दछ। तर सकारात्मक अपेक्षा गरौं कि उक्त यलम्बर प्रतिष्ठनलाई सिमित साउजीहरुको साउजी बर्गिय स्वार्थको दृष्टिकोणको मनोमानिमा मात्र नचलाई समग्र किरात महासभ्यता र आधुनिक मानव समाजको निम्ति यलम्बरले खेलेको सकारात्मक भुमिका र योगदानहरुलाई स्थापित गर्दै लगोस।

यी त भए यलम्बरको नाम जोडिएको एक दुई वटा महत्वपूर्ण उदाहरणहरु, बजारमा डुलियो भने यस्ता अरु प्रसस्तै नामहरु देख्न पाईन्छ। जस्तै, यी नामहरु, यलम्बर गेष्टहाउस, मासुपसलदेखि महान दार्शनिक बाजे, बजुको नाममा सुम्निमा खाजाघर, सुम्निमा भट्टिपसलदेखि पारुहाङ गेष्टहाउस र पारुहाङ कोलस्टोरसम्म बजारमा थुप्रै पाईन्छन। फेरि यी क्रियाकलाप र बजारिया गतिबिधिले निश्चित रुपमा केही प्रश्नहरु जन्माउँछ।

क. क-कस्ले यसरी गरिरहेका छन ?
ख. किन यसरी गरिरहेका छन ?
ग. के कारण यी महान नामहरु यसरी सस्तो ब्याबसायिक बजारसंग जोडिएर आई रकेको छ ?
घ. यो अवस्था आउनु पछाडिको जिम्मेवार को को छन ?

क) कस्ले यसरी गरिरहेका छन ? आफुलाई यलम्बरको आफ्नै बंश सम्झने यलम्बरको नामप्रती गर्व गर्ने मानिसलरुले नै यसरी गरिरहेका छन। भलै उनिहरुको नियत गलत नहुन सक्छ। तर यलम्बर, सुम्निमा, पारुहाङ, नामको महत्व र उचाई कत्ती छ ?यसको ज्ञान नहुन सक्दछ। जसकारण यी महान नामहरु दिन दिनै सस्ता बजारसंग सस्तै तरिकाले आईरहेको छ। जुन नामहरु बजारमा सस्तो भएर आउँदा एउटा महान सभ्यता र दर्शन नै सस्तो भईरहेको छ। भन्ने कुराको हेक्का नभएको हुनु पर्छ।

ख) किन यसरी गरिरहेका छन ? भन्ने सवालमा याहाँ दुईवटा कुरा हरु हुन सक्दछ। १) आत्माअस्तित्व ओधको कारण र २) बजारिया प्रभाबका कारण हुन सक्दछ। किन भने प्रत्यक्ष वा अप्रत्यक्ष यो समाजमा दशकौं देखि आ-आफ्नो अस्तित्वको लँडाई भईरहेको छ। भलै समाजमा कहिले बर्गिय मुद्दा प्रधान हुन सक्दछ। त कहिले समाजको विभिन्न सहायक सामाजिक अन्तरबिरोधसंग सम्बन्धित मुद्दाहरु पनि प्रधान हुन सक्दछ। नेपालको किरात समुदाय निक्कै समय अगाडिदेखि जातिय पहिचान अथवा अस्तित्वको लँडाई लडिरहेको समुदाय हो। जसको मुद्दालाई दसबर्षे जनयुद्धको एक ऐतिहाँसिक कडि तथा सामाजिक परिघटनाले राष्ट्रिय स्तरमा स्थापित गरि दियो। जसको प्रभाबले सृजना गरेको यो
राजनीतिक चेतनाको उपज पनि हुन सक्दछ। साथै जुन अस्तित्वको राजनीतिक लँडाईले पुस्तौं पुस्ता हुर्किएको लाहुरे संस्कृति, लाहुरे प्रवृत्ति, लाहुरे चिन्तन अनि लाहुरे मानसिकता भत्किँदै राजनीतिकर आधुनिक बजारसंग जोडिँदै ब्याबसायीकरण हुन खोजेको संकेत पनि हुन सक्दछ। पुरानो चेतना मानसिकता भत्किएर राजनीतिक चेतनासहितको ब्याबसायि हुनु खोज्नु आफैमा अत्यान्तै सकारात्मक बिषय हुन सक्दछ। तर ती ब्याबसायमा प्रयोग भएका कुन-कुन पात्र,शब्द, नाम, को उचाई गरिमा र त्यस्को महत्व कत्ती छ ? र त्यस लाई कसरी बुझ्ने ? कहाँ र कसरी प्रयोग गर्ने भन्ने ज्ञानको अभाब अनि विशेष त यो बजारिया प्रभाबको करण पनि यस्तो भएको हुन सक्दछ।

ग) के कारण यी महान नामहरु यसरी सस्तो ब्याबसायिक बजारसंग जोडिएर आई रकेको छ ?
यो प्रश्न आफैमा एक गम्भीर प्रश्न हो। यो आलेखको आलोकमा उठाईएको बिषय बस्तुको मुख्य प्रश्न पनि यहिँ हो। कुनै पनि ब्याक्तिले हरेक बिषय बस्तुमाथि राख्ने उसको दृष्टिकोण तथा उस्को धारणा उसको बैचरिक चेतनाले निर्धारण गर्दछ। जुन चेतना उस्को सामाजिक सत्ता तथा उस्को बैचारिक सत्ताले निर्माण गरिदिएको हुन्छ। जुन चेतना अनुसार नै उ चल्छ, बुझ्छ, आफ्नो धारणा बनाउँछ, अनि त्यहिँ धारणा अनुसार उस्ले हरेक कुराको व्याख्या गर्दछ। अनि त्यहिँ बुझाईको आधरमा उ ब्याबहारिकतामा ढल्छ। एबं रितले हरेक नाम, पात्र अनि बिचारहरुलाई टुल्सको रुपमा उस्ले उपयोग गर्दछ। यसैको परिणाम स्वरुप पनि कत्तिपय ऐतिहाँसिक ब्याक्तित्व, नामहरुको दुरुपयोग भईरहेको हुनु पर्दछ।

(घ) यो अवस्था आउनु पछाडिको जिम्मेवार को को छन ? यो प्रश्नको उत्तर खोज्न किरात महासभ्यता र त्यो समुदाय अन्तर्गतको सम्पुर्ण बिकाश संरक्षण र सम्बर्द्धनको निम्ति स्थापित आदिबासी जनजाती महासंघको घटक संगठन “किराया” र अर्को किरात सभ्यताको संरक्षण र सम्बर्द्धनको निम्ति अध्यता, अनुसन्धाता तथा चिन्तन गर्ने बौद्धिक बर्गहरुले खेलेको भुमिकासम्म पुग्नु पर्दछ।

तसर्थ, किरायाको स्थापनाकालदेखि अहिलेसम्मको ईतिहाँसमा उसको धेरै राम्रो कामहरु गर्यो होला तर महत्त्वपूर्ण कामहरु गरेको देखिँदैन। जुन माथी उठाईएको बिषयगत कामहरु संस्थागत हिसाबले उस्ले गर्नु पर्छ र गर्न सक्दछ। तर किन गर्दैन ? भन्ने सवालमा उ आफैं स्पष्ट र स्वतन्त्र छैन। उ आफुलाई किराती समुदायको मुक्तिकोलागि स्थापित भएको बिशुद्ध सामाजिक संङ्गठन हो भन्छ। तर उ पार्टिको अधिनस्थ संगठन भन्दा कुनै हिसाबले पनि फरक छैन। र किराया आफुलाई कुनै राजनीतिक दलको अधिनस्थ संगठन पनि होईन भन्छ। तर, राजनीतिक दलहरुको गोलमेच बैठकद्वारा पार्टिको शक्तिको आधारमा उसको नेतृत्वहरुको चयन हुन्छ। किरात दर्शन र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आम किरात समुदायमा चेतना प्रवाह गर्नु पर्ने किराया हिन्दु धार्मिक ध्वजा बोकेर एउटा एनजिओ भन्दामाथी उठन सक्दैन। यी उसको कर्मको दृष्टान्तहरुबाट हेर्दा उ यो देशको राजनीतिक दलहरुको अधिनस्थ संस्था हो। जुन दलहरुको अनुमती बिना जसको काम कार्बाही अगाडि बढ्न सक्दैन। जुन दलहरु हिन्दु धार्मिक सामाजीक शत्ताको जगमा उभिएको छ। त्यसैले किरायालाई हिन्दु धार्मिक सामाजिक शत्ताको लक्ष्मण रेखा भन्दा बाहिर आएर आफ्नो मौलिक संस्कृति र दर्शन बारे स्पस्ट बिचारहरु अगाडि राख्ने छुट छैन। तसर्थ, परिणाम स्वरुप किरात समुदायलाई बैचारिक हिसाबले एकताबद्द बनाउनु पर्ने ठाउँमा किरायाको अस्पष्ट बिचार र असक्षम नेतृत्वको कारण भाषिक आधारमा जातिमा सूचीकरणको माग राखि कबिला समूहतर्फ फर्किने रैथाने चेतना बोकेका किरात महासभ्यता र शत्ता मुल दर्शनलाई बिखण्डन गरि तहसनहस पार्ने खतरनाक कुलंगार प्रवृत्ति बोकेका अर्को धोकेबाँझ समुहहरुको आवाजहरु बजार भरी असरल्ल तरिकाले उठिरहेको छ। उसको मुख्य जिम्मेवार पनि किराया नै हो। जसले किरात दर्शन संस्कृति र सभ्यताको मुल दर्शन प्रती प्रष्ट भएर सम्पुर्ण भाषिक समुदायहरुप्रती एकताबद्ध र न्यायसंगत ढंङ्गले नेतृत्व गर्न सकेन। उल्टै एनजिओ आईएनजिओ भन्दा तल गिरेर दाम तोकेर दाम अनुसारको विभिन्न तहको सदस्यहरु बनाउने ब्यापारिक गिरोहमा उसको मुल नेतृत्व अनि उसको ईकाईहरु रुपान्तरण हुनुको साथै त्यहाँ भित्र बिचार भन्दा पैसा हाबी भएको कारण, र अर्को कुरो किरातीहरुको संस्कृति सभ्यता र दर्शनको अध्यता, अनुसन्धाता तथा चिन्तन गर्ने बौद्धिक समुदाय भन्नेहरुले किराती समुदाय र उस्को शत्ता र संस्कृतिको बारेमा बैचारिक बहस उठाउनु भन्दा बढी साँस्कृतिक र धार्मिक दृष्टिकोणबाट व्याख्या गर्दै आएको कारण किराती समुदायहरुलाई यलम्बर, सुम्निमा, पारुहाङहरुको भुमिका, महत्व र योगदानहरुको बारेमा स्पष्ट नपारी दिएको, नलेखी दिएको अनि नबुझाई दिएको कारण पनि यो अवस्था आएको हो।

अब यी माथि उठेका बिषय बस्तुहरुले के स्पष्ट पार्छ भने हामिले शत्तालाई कसरी बुझेका छौं ? शत्ताप्रतीको हाम्रो बुझाई कस्तो छ ? अनि हामी कस्तो शत्ता निर्माण गरिरहेका छौ ?

एउटा आलेख मार्फत गुठी बिधयेक विरुद्ध उठेको आन्दोलन, निजगड फास्ट्र्याको विरुद्ध खोकनाको प्रतिरोध अनि रथ तान्न पाउनु पर्ने साँस्कृतिक अधिकारप्रती सरकारविरुद्ध गरेको बिद्रोहहरुमा नेवारी समुदायले देखाएको स्वस्फूर्त सहभागिताको बिषयमा कान्तिपुर राष्ट्रिय दैनिकमा कवि, लेखक तथा चिन्तक भूपाल राई लेख्नु हुन्छ। ‘उपत्यकाका नेवार समुदाय साँच्चि नै सलामका हकदार छन् । उनीहरू एक दिन मात्र जागिदिए भने सबै खाले शक्ति घुँडा टेक्न बाध्य हुन्छन् । तर, दुःखको कुरा, उनीहरू नितान्त सांस्कृतिक प्राणी छन् । त्यसैले उनीहरूले पटक–पटक सांस्कृतिक दुःख झेलेका छन् । उनीहरूले अब बुझ्नुपर्छ, यो दुःखको एक मात्र निदान घोर सांस्कृतिक प्राणी भैरहनुमा होइन बरु आफूलाई राजनीतीकरण नगर्नुमा छ ।’

हो, हाम्रो किरात समुदाय पनि त्यहिँ मनोदशाको सिकार भईरहेको छ। को साँस्कृतिक पात्र हुन? को राजनितिक पात्र हुन ? को दार्शनिक भुमिकाको पात्र हुन ? तिनिहरुको भुमिका के के हो ? तिनको स्थान कुन कुन ठाउँमा हो ? तिनलाई कुन बिषयसंग जोडेर स्थापित गर्दै लाने ? भन्ने कुरा सम्म हामी किराती समुदायको सबै तह र तप्काले छुट्याउन सकिरहेका छैनौं। हामिमा यहिँ ज्ञानहरुको अभाब भएको कारण हाम्रो ऐतिहाँसिक पात्रहरु र हाम्रो हजारौं बर्षको ईतिहाँसको प्रचार-प्रसार अनि यसलाई स्थापित गर्ने नाममा हामी आफैंले त्यस्को धज्जी उडाई रहेका छौं।

लाग्न सक्छ यलम्बर गेष्ट हाउस, यलम्बर गायन प्रतियोगिता यलम्बर प्रतिष्ठान राख्दैमा के बिग्रीयो ? सुम्निमा होटल, सुम्निमा मासु पसल, पारुहाङ गेष्ट हाउस राख्दैमा के बिग्रीयो ? यदि उसो हुँदो हो भने अब अलिकती यता तिर पनी हेरौं हाम्रो देशमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता भनिन्छ। जस्को नाममा पृथ्वी चोक, पृथ्वी राजमार्ग जस्ता उनको नाम जोडिएको थुप्रै भौतिक सम्रचना छन र सत्ताका अंगहरुमा पनि उनको नाम जोडिएको पाईन्छ। किन ती सम्रचनासंग उनको नाम जोडियो त ? उनको नाममा अब पृथ्वीनारायण शाह देशब्यापी गायन प्रतियोगिता, पृथ्वीनारायण साहा भजन मण्डली, पृथ्वीनारायण शाह देशब्यापी कबिता बाचन प्रतियोगिता, पृथ्वीनारायण शाह देशब्यापी नृत्य प्रतियोगिता, महेन्द्र शाह देशब्यापी गजल बाचन प्रतियोगिता, महेन्द्र शाह खुल्ला कविता बाचन प्रतियोगिता गर्न थालियो भने यहाँ उनिहरुको ब्यक्तित्व र उनीहरुको ऐतिहासिक गरिमा कहाँ पुग्छ ? पृथ्वीनारायण शाह प्रतिष्ठान, पृथ्वीनारायण शाह गेष्ट हाउस, महेन्द्र शाह खाजा घर, महेन्द्र शाह फ्रेस हाउस नाम राख्न थालियो भने यहाँ कस्तो परिस्थिति सृजना होला ?

पृथ्वीनारायण शाहको अस्तित्व जम्मा २४० बर्षको छ। भने यलम्बरको अस्तित्व कत्ती हो ? आफ्नो सानो देश भएको कारण अतिक्रमण गरेर आफ्नो देशमा गाभ्ने मानिस राष्ट्र निर्माता, राष्ट्रनायक अथवा पृथ्वीनारायण शाह नाम आफै शत्ता हुन सक्छ। भने यो माटोमा ब्याबस्थित ढंगले २९ पुस्ताले राज गर्ने पहिलो राजनीतिक प्रणालि तथा एउटा नयाँ युगको शुरुवात गर्ने यलम्बर एउटा गायन प्रतियोगिताको ट्याग मात्र बन्ने हैंसियतको पात्र हुन र ? के एउटा गेष्ट हाउस, मासु पसल, खाजाघरको नामको लागि मात्र उपयोगी पात्र हुन त यलम्बर, पारुहाङ अनि सुम्निमा ?

निष्कर्षमा-
भन्न खोजेको के हो भने माथी उल्लेखित यलम्बर, पारुहाङ, सुम्निमा यी नामहरु साँस्कृतिक तथा ब्याबसायिक नाम मात्र होईनन। यी नामहरुले एउटा उन्नत सभ्यता, संकृती र बेग्लै राजनीतिक प्रणालिको बिकास गरेका छन। जसको अस्तित्व अझै पनि स्थापित छ। त्यसैले यी नामहरु संस्कृति भन्दा बढी शत्ता हुन। त्यसैले यी नामलाई सत्तासंग नै जोडेर स्थापित गरेको राम्रो हुन्छ। जस्तै यलम्बर गायन प्रतियोगिताको ठाँउमा हामिले किन यलम्बर राजमार्ग अथवा यलम्बर प्रतिष्ठानको ठाँउमा किन यलम्बर बिश्वबिध्यालय नामको पहल गर्न सक्दैनौं ? सुम्निमा मासु पसलको ठाँउमा किन सुम्निमा राष्ट्रिय पुस्तकालय तथा पारुहाङ गेष्ट हाउसको ठाँउमा किन पारुहाङ बिज्ञान प्रयोगशाला जस्ता नामहरुमा पहल गर्न सक्दैनौं ? यी सब कुरा हामिले सत्तालाई ठिक ढंगले बुझ्न नसक्नुको परिणामहरु हुन सक्दछ। त्यसैले हामिले हाम्रा ऐतिहासिक पात्रहरुलाई ठिक ढंङ्गले बुझेर मात्र उनिहरुको साख नगिर्ने र जसको ऐतिहाँसिक योगदानको सम्मान हुने ठाँउमा स्थापित गरौं। स्थापित गराउने नाममा सस्तो बस्तु जसरी बजार संग नजोडौं। हामिले हाम्रो शत्तासंग संबन्धित ऐतिहाँसिक पात्रहरुलाई जुन हैंसियतमा राख्यो अरुले पनि त्यहिँ हैंसियतबाट हेर्ने र बुझ्ने गर्दछन।

अत: हामिले यी सबै कुरालाई बुझ्नुकोलागि दर्शनलाई ठिक तरिकाले बुझ्नु पर्दछ। जसले हाम्रा सम्पुर्ण बिषय र ऐतिहाँसिकतालाई सिलसिलाबद्द तरिकाले हेर्न, बुझ्न, र प्रयोग गर्न सिकाउँछ। हामिसंग महान सभ्यता छ, संस्कृति छ, त्यसको प्रणाली छ। यी सबैलाई ठिक ठिक ढंगले प्रयोग गर्दै अगाडि बढौं। हामी साँस्कृतिक प्राणी त हुँदै हौं। हाम्रो अस्तित्व र पहिचानलाई यदि स्थापित गर्ने हो भने कबि, लेखक, तथा चिन्तक भूपाल राईको अनुसार अब हामी राजनीतिक प्राणी बन्नै पर्दछ। हाम्रो महान संस्कृतिलाई बैचारिक बहसद्वारामाथी उठाउँदै राजनीतिक अन्दोलनद्वारा शत्तासंग जोड्न बिलम्ब नगरौं।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्