मिस्टर नेपालको अडिसन सुरु
‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।
अहिलेसम्म प्रतियोगीतामा एक सयभन्दा बढीले अडिसन दिइसकेका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो ।
१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागिता जनाउन सक्नेछन् । ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले प्रतियोगीतामा सहभागिता जनाउन सक्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् ।



