विश्वकप लिग-२: नेपाल र पपुवा न्युगिनी भिड्दै
नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक थप्न चाहन्छ । पपुवा न्युगिनी विश्वकप लिग–२ मा पहिलो जित निकाल्ने सोचमा छ । शारजाहको बाउन्ड्री छोटो हुँदा दुबै टोलीले ब्याटिङमा ध्यान दिनेछन् ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ । जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
तर, नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।
लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।



