स्थानीय चुनाव- काठमाडौं भन्दा बढी मोरङ र झापामा छन् मतदाता
यसपालिको स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले सहभागिता जनाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलबीच आयोजना गरेको छलफलमा आयोगले उक्त जानकारी दिएको हो। आयोगका अनुसार निर्वाचन आयोगमा अहिले १११ दल दर्ता छन्। तीमध्ये स्थानीय तहको निर्वाचनका लागि निवेदन दिएका ८० मध्ये ७९ दल दर्ता भएका हुन्।
निर्वाचनका लागि दल दर्ताको सूचना फागुन ५ गते प्रकाशन गरी १५ गतेसम्म समय दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। निर्वाचन हुने अघिल्लो दिनसम्म (वैशाख २९) १८ वर्ष उमेर पुगेका मददाताको मताधिकार सुनिश्चित हुने गरी कट अफ डेट निर्धारण गरिएको र यसबाट थप दुई लाख युवाहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने उनले बताए।
२०७९ वैशाख ३० गते देशैभरिका स्थानीय तहको एकै चरणमा निर्वाचन हुँदैछ। आयोगका अनुसार वैशाख ३० गते शुक्रबार बिहान ९ देखि अपराह्न ५ बजेसम्म मतदान हुने छ। आयोगले गत मंसिर १७ देखि पुस १९ सम्म मतदाता नामावली संकलन अभियान सुरू गरेको थियो।
यसपालिको निर्वाचनमा १ करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली संकलन गरिएको आयोगले जनाएको छ। जसमा महिला ८७ लाख ८६ हजार ३६४, महिला ९० लाख ४८ हजार २१३ र अन्य १८८ मतदाता छन्। उक्त नामावली फागुन १९ गते दाबीविरोधका लागि टाँस गरिएको पौडेलले बताए।
सबैभन्दा बढी मतदाता मोरङमा, कम मनाङमा
आयोगका अनुसार निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन्। मोरङमा ७ लाख १७ हजार ६७ मतदाता रहेका छन्। बढी मतदाता संख्या रहेको दोस्रो जिल्ला झापा हो। झापामा ६ लाख ५० हजार २५८ जना छन्। यसैगरी, बढी मतदाता संख्या रहेको तेस्रो जिल्ला काठमाडौं रहेको छ। काठमाडौंमा ६ लाख ४० हजार ५८ मतदाता रहेका छन्।
यस्तै, सबैभन्दा बढी मतदाता रहेको जिल्ला मनाङ हो। मनाङमा ६ हजार ५७१ मतदाता छन्। यस्तै, कम कम मतदाता रहेको दोस्रो जिल्ला मुस्ताङमा १० हजार ७९० र तेस्रोमा डोल्पा २२ हजार ६५१ रहेका छन्। महानगरपालिकामा सबैभन्दा बढी मतदाता काठमाडौंमा ३ लाख ५७८, दोस्रोमा पोखरामा २ लाख ८ हजार ७० र तेस्रोमा भरतपुर १ लाख ८६ हजार ६६९ छन्।
यसैगरी, सबैभन्दा कम मतदाता रहेको पालिका नापभूमि मनाङ (४५०), दोस्रोमा चामे मनाङ (७२२) र तेस्रोमा छार्का ताङसोङ डोल्पा (९८४) रहेका छन्।