देशको राजनीति माओवादीको इसारामा चलिरहेको छ – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन्। देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ ।
सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,’ अध्यक्ष प्रचण्डले भने ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए। एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ ।
‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ’ उनले भने ।