Logo

अवबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकले जुनसुकै गेटबाट प्रवेश गर्न पाउने


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारी बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाए । अनलाइन सूचना प्रणाली (फेमीस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो ।

विमानस्थलमा श्रमिकको समस्यालाई समाधान गर्दै जाने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाएका छन् । यसअघि विमानस्थलमा श्रमिक प्रवेशका यसअघि लागि छुट्टै गेट प्रयोग गरिँदै आइएको थियो । अहिले जुनसुकै गेटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन तीनवटै द्वारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पीसीआर परीक्षण चेकजाँच गर्ने प्रक्रिया हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् । यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रियाअगाडि बढाइन्थ्यो । विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचनाकेन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।

श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखेपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्र तीन लाख ५० हजारभन्द धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यसअघि, वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक दुई हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतिको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्