संखुवासभा दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो
संखुवासभामा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। डिएसपी लालध्वज सुवेदीका अनुसार दुर्घटनामा परि १४ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं.६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो। मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताएका छन् ।
उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ। गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। साथै दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ। स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए ।