‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ नारा ठिक भएन : महर
फागुन २९ गतेदेखि नेपाली कांग्रेसले सुरु गर्न लागेको स्थानीय निर्वाचन केन्द्रित घरदैलो अभियानमा पार्टीकै केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । पार्टीको मंगलबार भएको बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले अभियानलाई लिएर असन्तुष्टि जनाएका हुन् । बैठकमा बोल्दै उनले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको नारामा जनताको जनजीविकाको विषय नसमेटिएको बताएका थिए ।
उनले ‘नि:शुल्क शिक्षा र स्वास्थ्यसँगै सर्वशुलभ यातायात, सञ्चार र रोजगार जनताको अधिकार र कांग्रेसको कार्यभार’ भन्ने वाक्यांश अभियानको नारामा समावेश गरिनुपर्ने बताए । बैठकमा महरले केन्द्रीय समितिको बैठक नबसी अभियान तय गरिएकाले प्रभावकारितामासमेत प्रश्न उठाए ।“केन्द्रीय समिति, प्रदेश र जिल्ला सभापतिहरूलाई संयुक्त राखेर रणनीतिक बैठक बोलाएर आगामी चुनावको रणनीति तय गरिनुपर्छ । विधानभन्दा बाहिर गएर पदाधिकारी र कार्यसम्पादनको बैठकको हवाला दिएर निर्णय गर्न पाइँदैन,” उनले भनेका थिए ।