Logo

राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने प्रवृतिले तरलता अभाव – डा. चिरञ्जीवी नेपाल


नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने प्रवृतिले तरलता अभाव भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै डा.नेपालले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले तरलता अभाव भएको बताएका हुन्। यस्तै उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको समेत बताए। उनले सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने दाबी गरे ।

बैंकहरूबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ। यस्तै उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताए। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए। चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगातार रूपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाइ छ। डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधारसमेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे। सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले बताए ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गरे। उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्यसमेत पूरा नहुने बताए। त्यस्तै, पूर्वगभर्नर नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए। उनले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए ।

उनले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए। रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मूल्य वृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताए। उनले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय खपतमा जोड दिनुपर्ने बताए । पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि कम हुँदै गएकाले थप समस्या आउने बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्