सुमन लामाले छाडे नेपाल पुलिस क्लब
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड सुमन लामाले नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्तराज थापाले फरवार्ड सुमनले क्लबमा राजीनामा बुझाएको बताए । “सुमनले क्लबमा आफ्नो राजीनामा बुझाइसकेका छन् । प्रक्रिया अघि बढिसकेको छ । उनी पुलिस क्लबबाट बिदा भएका छन्,” पुलिस क्लबका मुख्य प्रशिक्षक थापाले भने ।
०७० देखि पुलिस क्लबबाट खेल्दै आएका सुमन ०७३ मा पुलिसको जागिरे बनेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करणमा सुमनले १२ खेलमा चार गोल गरेका थिए । उनले अर्को एक गोलका लागि अवसर सिर्जना गरेका थिए । ०१६ मा बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका सुमनले २२ खेलिसकेका छन् ।
सुमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रिय खेलाडी खेलाडीमध्येका एक हुन् । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण लागि सुमन साविक विजेता काठमाडौं रेजर्ससँग अनुबन्धित भएका छन् । सुरुमा सुमनमाथि कुनै पनि टोलीले बोली लगाएका थिएनन् । तर, पछि काठमाडौंले ‘विस लिस्ट’मार्फत सुमनलाई भित्राएको हो । एनएसएलको पहिलो संस्करणमा सुमनले बुटवल लुम्बिनीबाट खेलेका थिए ।