Logo

धरान हत्या काण्ड – अरू पुरुषसित मोबाइलमा कुरा गरेपछि हत्या


सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, सरङडाँडाकी सुमित्रा तामाङको हत्या गरेको आरोपमा इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटाको पाख्रिबास नगरपालिका–६, फलाटेका २४ वर्षीय विनेश राना पक्राउ परेका हुन् । उनी इटहरी–५ मा डेरा गरी बस्दै आएकी थिइन् ।

यही फागुन १७ गते बिहान धरान उपमहानगरपालिका–१८, बुद्धचोकस्थित न्यु कान्तिपुर होटेल एन्ड गेस्ट हाउसको कोठामा तामाङको शव फेलापरेको थियो ।

घटना अनुसन्धानका क्रममा हत्यामा विनेशको संलग्नता देखिएपछि पाख्रिबास–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो ।

विनेश गएको शनिबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार श्रीमान् विदेशमा रहेको बेला विगत एक वर्षदेखि सुमित्रासँग उनको प्रेम सम्बन्ध रहेको खुल्न आएको छ ।

पटक–पटक भेटघाट हुने गरेको र आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटेलमा बसेको पनि अनुसन्धानका क्रममा देखिएको छ ।

फागुन १६ गते बेलुका सुमित्राले अरू पुरुषसित मोबाइलमा कुरा गरेको विषयमा विवाद भएको थियो ।

त्यसपछि विनेशले कुटपिट गरेको र विवाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्याको गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लगत्तै उनी पाँच हजार रुपैयाँ र मोबाइल समेत लिई होटेलबाट फरार भएका थिए ।

विनेशविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्