सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा छन् – सुवास नेम्वाङ
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् ।
नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने भन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको जिकिर गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारूढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकमार नेपालहरूप्रति संकेत गर्दै उनले ‘केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन् ?’ भनी प्रश्न गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैँले सार्वजनिक गरेको १०० दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायब बनाउने गरेको उनको भनाइ थियो ।