माओवादी केन्द्रलाई परराष्ट्रमन्त्रालय दिएर अर्थमन्त्री फेर्ने तयारीमा देउवा
अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट भएका छन् ।
अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्रमाथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्रीले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् ।
प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् ।
प्रधानमन्त्रीले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछन् ।
“अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्शमा अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्रमन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो, “प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुनेछ ।”