एमसीसी विरुद्ध बृहत कार्यक्रम हुने
बहुविवादित अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका कम्युनिष्ट पार्टी र मोर्चाले भोली शुक्रबार राजधानी काठमाडौमा जनसभामा आयोजना गरेकाछन ।
काठमाडौको खुल्लामञ्चमा आयोजित सभामा आन्दोलित वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विराेधसभाका वक्ताहरु माेहन वैद्य ‘किरण’, माेहन विक्रम सिंह, सीपी गजुरेल ‘गाैरव’, नेत्र विक्रम चन्द ‘विप्लव’, चित्रबहादुर केसी, विश्वभक्त दुलाल ‘आहुति’, ऋषि कट्टेल र कर्णजीत बुढाथोकी ‘सुशील’ जनसभाका प्रमुख वक्तामा छन् । (स. सच्च्याएको )
प्रचण्डद्वारा पार्टी विभाजनतिर नलाग्न नारायणकाजीलाई आग्रह : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान पनि भेटवार्ता भएको छ ।
प्रचण्डले आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी विभाजनको गतिविधि अघि नबढाउन श्रेष्ठलाई आग्रह गरेका स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको र त्यसमा पार्टीको समर्थन रहेकोप्रति श्रेष्ठ असन्तुष्ट छन् ।
एमसीसी अनुमोदन भइसकेपछिको पत्रकार सम्मेलनमा प्रचण्डले दिएको श्रेष्ठलक्षित अभिव्यक्तिले असन्तुष्टि चुलिएको छ ।
गएको मंगलबार प्रचण्डले नाराणयकाजी निवास हात्तीवन पुगेर एमसीसीमा मतभिन्नता कायम रहे पनि मिलेर जाने प्रस्ताव राखेका थिए ।
नारायणकाजीले बुधबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग छलफल गरेका थिए ।
विवादबीच विभिन्न नेताहरूसँग छलफल चलाएपछि प्रचण्ड झस्किन थालेको माओवादी केन्द्रका एक नेता बताउँछन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ । बैठकमा श्रेष्ठ पक्षले ‘नोट अफ डिसेन्ट’ प्रस्तुत गर्न सक्ने ती नेताको भनाइ छ ।