Logo

मोरङमा सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरू


राष्ट्रिय भूमि आयोगले मोरङको सुन्दर-हरैंचा नगरपालिकामा जग्गाको नापजाँच सुरू गरेको छ।

बुधबारदेखि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरू गरेको हो।

सुन्दर-हरैंचा नगरपालिका वडा-१० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरू गरिएको छ।

जग्गाको नापजाँचमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौला आफैं पुगेका थिए।

उनले राज्यले भूमिहीन, अव्यवस्थित बसोबासीलाई पहिलो प्राथमिकतामा काम गरिरहेको बताए। स्थानीय तहको निर्वाचन भन्दाअघि नै सुकुम्बासीले जग्गा पाउने अध्यक्ष निरौलाले बताए।

भूमि आयोगसँग सम्झौता गरी काम थालेको सुन्दर-हरैंचा पहिलो नगरपालिका हो।

मेयर शिवप्रसाद ढकालका अनुसार जग्गा नापजाँचका लागि चार वटा समूहमा प्राविधिक टोली खटिएको छ। स्थानीय तहको निर्वाचनअगावै सुकुम्बासीलाई लालपूर्जा दिने तयारी रहेको उनले बताए।

यो नगरपालिकामा १२ वटा वडा छन्। ती १२ वटैमा सुकुम्बासी र भूमिहीन दलित छन्।

‘सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको पहिचान गर्ने काम सकिएको छ,’ मेयर ढकाल भन्छन्।

सुन्दर-हरैंचा नगरपालिकामा ६ हजार ७२ जनाले फारम भरेका छन्। उनीहरूका लागि नगरपालिकाले सलकपुरमा सेवा कार्यालय सञ्चालन गरेको छ।

सेवा कार्यालयले सुकुम्बासीको पहिचान, उनीहरूका समस्या, फारममा भएका त्रुटीहरू सच्याउने काम गर्छ र अन्तिम नामावली नगरपालिकामा पठाउँछ।

अन्तिम नामावली आएपछि नगरपालिकाको बोर्ड बैठकले ती नामहरूको अनुमोदन गर्छ।

नगरपालिका बोर्डमा मेयर, उपमेयर, दुई जना वडाध्यक्ष, एक दलित महिला, दुई जना कार्यपालिका सदस्य र राष्ट्रिय मान्यता प्राप्त सबै दलका एक-एक जना प्रतिनिधि हुने कानुनी व्यवस्था छ।

सर्वपक्षीय दलगत प्रतिनिधिसहितको बोर्डको परिकल्पना गरेका कारण आस्था वा विचारका आधारमा सुकुम्बासीलाई व्यवहार गर्ने छुट नरहने भएकाले भेदभावरहित ढंगले लालपूर्जा वितरण हुन्छ भनिएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्