माओवादी केन्द्रले बाहिर राष्ट्रवादी भनेर भित्र–भित्र राष्ट्रघात गर्न पाउदैन – भट्टराई
सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्बाट एमसीसी सम्झौता पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसद्बाट एमसीसी अनुमोदन गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिए ।
उनले एमसीसी सम्झौता संसद्मा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने र त्यसको ठाउँमा अर्को पार्टी आउने उल्लेख गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘सरकारमा बसेर तर मार्ने अनि बाहिर–बाहिर राष्ट्रवादी भनेर भित्र–भित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने’ बताए ।
आफूहरू संसद्बाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागिपरेको पनि उनले बताए । मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले एमसीसी अनुमोदन गर्नुपर्ने भट्टराईको भनाइ थियो ।
उनले एमसीसी अनुमोदन नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरा समेत औँल्याए ।
नेपालले चीन, भारत र अमेरिकालगायत सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दिगो शान्तिका लागि काम गर्नुपर्ने उनले दोहोर्याए ।
एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागिपरेको उनले बताए ।